जन्मथलोबाट पलायन हुन नदिनु अहिलेको तड्कारो आवश्यकता ः प्रमुख क्षेत्री

पोखरा, २४ असोज/सुर्केमैदान सिर्जनशिल क्लब पोखरा महानगरपालिका २८ कालिकाले जनप्रतिनिधिसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । वडामा भइरहेका गतिविधि स्थानियवासीलाई जानकारी गराउने तथा स्थानियले भोग्नु परेका समस्या एवं उनीहरुको गुनासालाई जनप्रतिनिधि समक्ष पु¥याई सम्बोधन गर्ने उद्धेश्यले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिको कार्यालय कास्कीका प्रमुख वैन बहादुर अधिकारी क्षेत्रीले भौगोलिक बनाबटका कारणले समेत पोखरा २८ मा अपेक्षाकृत विकास हुन नसकेको बताए । विस्तारै विकास निर्माणका कार्यहरु भइरहेपनि बसाईसराई र गाउँबाट पलायन हुनेहरु बढ्दै जाँदा समस्या हुन थालेको उनले औल्याए ।

‘विकास डाँडाकाँडामा सर्दै गएको छ, तर डाँडाकाँडाबाट स्थानिय विस्थापित भइ शहर तिर झर्न थाले, पर्यटकिय स्थल हुन सक्ने जग्गा बाहिरिले किन्न थाले, अब विकास हामिले गर्ने, दुःख भइन्जेल स्थानियले भोग्ने अनि विकासको अनुभुति बाहिरबाट आउनेले गर्ने हो भने विकासले अर्थ राख्दैन’ क्षेत्रीले भने ।

सबैलाई जन्मथलोमा रहने वातावरण बनाउनुपर्ने अहिलेको तड्कारो आवश्यकता भएकोमा उनको जोड थियो । ‘जन्मथलोबाट पलायन हुने क्रम रोक्नुपर्छ, आयआर्जन गरी ढुक्कका साथ यहि बस्ने वातावरण हामि मिलाउछौ’ उनले वाचा गरे । पोखरा २८ का जनताले लामो सयदेखि भोग्दै आएको खानेपानी समस्या र सडक पुर्वाधारको समस्या विस्तारै हल हुदै गएको प्रमुख क्षेत्रीको भनाई थियो ।

पोखरा महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष निर्मल दियाली सुनारले वडाको विकासको लागि योजनाबद्ध ढंगले अगाडी बढेको बताए । छिमेकी वडा तथा वडा कार्यालय देखि वडाका विभिन्न ठाउँमा जाने कनेक्टिङ रोडको तिव्रताका साथ भइरहेको उनको भनाई थियो । ‘सडक मार्ग निर्माण भइरहेको छ, वडाका विभिन्न ठाउँमा देखिएको खानेपानी समस्यालाई समाधान गर्ने काम गर्दै छौ, यहाँ देखिएको बाँदरको समस्या समाधान गर्न प्रयत्न गरेका छौ, यातायातको सहजताको लागि वडाले समन्वय गरिरहेको छ’ उनले भने ।

निर्वाचनको बेला घोषणापत्रमा राखिएका कार्यहरुलाई पुरा गर्ने हेतुले आफुले काम गरिरहेको उनले बताए । यति हुँदाहुदै पनि क्षेत्रफल धेरै, भौगोलिक जटिलता र सिमित बजेटका कारण अपेक्षाकृत कार्य गर्न समस्या भने परेको उनले प्रष्ट पारे । वडाको विकास र स्थानियका अपेक्षालाई सम्बोधन गर्न हातमा हात, काधमा काध मिलाएर हिड्ने वाचा उनले गरे ।

टोल विकास संस्थाका अध्यक्ष बाबुराम रानाभाटले वडासँग समन्यव गरी कार्य गरिरहेको भएपनि सबैको साथ र सहयोग नहुँदा काम गर्न गाह्रो हुने गरेको बताए । सुर्केमैदान सिर्जनशिल क्लबका अध्यक्ष राजाराम पौडेलले जनप्रतिनिधि र स्थानियबिचमा भइरहेका गतिविधि र गुनासालाई एक अर्कामा सञ्चार गर्दै वडाको विकासमा सहजता प्रदान गर्न अन्र्तक्रिया कार्यक्रम गरिएको बताए । अन्र्तक्रिया कार्यक्रममा आएका स्थानियका गुनासा, सुझाब, जिज्ञासालाई वडाध्यक्ष निर्मल दियाली सुनारले सम्बोधन गर्दै निरन्तर गुनासा, सुझाब र जिज्ञासा राख्न अनुरोध गरे ।

पोखरा महानगरपालिका वडा नम्बर २८ को सहयोगमा आयोजित अन्र्तक्रिया कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष नवराज पौडेल र सञ्चालन सचिव इश्वर अधिकारीले गरेका थिए । सोही अवसरमा क्लबले नेपालीहरुका महान् पर्व विजयादशमी, दिपावली, छठ तथा नेपालसम्वत ११४० को अवसरमा शुभकामना आदान प्रदान समेत गरेको थियो । पोखरा २८ कार्यक्षेत्र रहेको क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

कमेन्टहरु
Loading...