कक्टेल, मक्टेल बनाउँदै ‘हस्पिटालिटी नेपाल’का प्रतिस्पर्धीहरु

पोखरा, २४ फागुन /‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को ‘ग्राण्ड फिनाले’ नजिकिरहँदा प्रतिस्पर्धीहरुले विभिन्न विधामा आफूलाई पोख्त बनाउन मेहेनतका साथ लागिरहेका छन् । कहिल बारिष्टा, त कहिले टेबुल म्यानर । अनि कहिले नेतृत्व विकास त कहिले व्यक्तित्व विकास तालिम ।त्यसो त प्रतियोगिताको फाइनलका लागि छानिएका १८ जना प्रतिस्पर्धीहरुका लागि आयोजक एपी इन्टरटेनमेन्टले हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित विभिन्न विधाका विज्ञहरुमार्फत उनीहरुलाई तालिम दिईरहेको छ ।

यसैबीच ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’का प्रतिस्पर्धीहरुले बार टेन्डर तालिम लिएका छन् । हस्पिटालिटीसँग जोडिएको यो विधा प्रतिस्पर्धीहरुका लागि लाभदायक रहने भएकोले उनीहरुलाई तालिममा सहभागी गराईएको आयोजकले बताएको छ ।इलुजन बार टेन्डर एकेडेमीले प्रतिस्पर्धीहरुलाई बार टेन्डरसम्बन्धि विभिन्न कलाहरु सिकाएको थियो । प्रतिस्पर्धीहरुले कक्टेल र मोक्टेल बनाउन सिकेका थिए । त्यस्तै उनीहरुले फ्लेमिङ र जग्लिङ आर्ट पनि सिकेका थिए ।

‘हामीले भैरहने विभिन्न पेजेन्टजस्तो तरिकाले यो इभेन्टलाई लैजान चाहन्नौँ । हामी केहि फरक र जीवनोपयोगी सिपहरु प्रतिस्पर्धीहरुलाई सिकाउन चाहन्छौ जसले गर्दा उनीहरुलाई कालान्तरसम्म फाइदा पुगोस् ।’ एपी इन्टरटेनमेन्टका अर्जुन पाण्डेले भने । हस्पिटालिटी नेपाल कन्टेस्टमा सहभागी भएकै कारणले पनि प्रतिस्पर्धीहरुले आफ्नो व्यक्तित्व विकास गर्न सकुन् भन्ने हिसाबले सोहि सेक्टरकै तालिमहरुमा उनीहरुलाई सहभागी गराईएको पाण्डेले बताए ।

हस्पिटालिटी नेपाल कन्टेस्टको यो तेस्रो सिजन हो । यो सिजनमा १८ जना प्रतिस्पर्धीहरुले ग्राण्ड फिनालेका लागि तयारी गरिरहेका छन् । आयोजकले शुक्रबार प्रतिस्पर्धीहरुले अहिलेसम्म सिकेका कुरा प्रस्तुत गर्नका लागि ट्यालेन्ट राउण्ड गर्दैछ । चैतको पहिलो साता कन्टेस्टको ग्राण्ड फिनाले गर्ने गरि आयोजकले तयारी गरिरहेको छ ।

कमेन्टहरु
Loading...