राहतको लागि लाईन बस्दा बेहोस, अपरेशन गर्न आवश्यक रकमका लागि सहयोग अपिल

पोखरा, १४ वैशाख / कोभिड–१९ को महामारीले देशभर लकडाउन छ । सम्पूर्ण कामकाज ठप्प छ । दैनिक ज्यालादारीमा काम गर्ने सर्वसाधारण लकडाउनले बढी प्रताडित भएका छन् ।

विभिन्न ठाँउमा विभिन्न संस्था तथा व्यक्ति विशेषले राहत उपलब्ध पनि गराउँदै आएका छन् । उपलब्ध गराउँदै आएको राहत लिने क्रममा एक व्यक्ति राहत लिन लाईनमा बस्दा अचानक बेहोस भएका छन् ।

पोखरा–९ शान्ति वनबाटिकासँगै रहेको निर्माण व्यवसायी समितिले आईतबार राहत उपलब्ध गराएको थियो । राहत लिन आईपुगेको लामाचौर बस्दै आएका मिस्त्री काम गर्ने ४७ वर्षिय कालीबहादुर गुरुङ भने अचानक बेहोस भई ढलेका छन् ।

उनको उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । अस्पतालले तत्कालै अपरेशन गर्नुपर्ने जनाएको छ । यद्यपी उनलाई के भएको भन्ने बारेमा यकिन हुन सकेको छैन् ।

उनको अपरेशनका लागि १ लाख ५० हजार रकम लाग्ने अस्पतालले जनाएको छ । उपचारका लागि आवश्यक रकम नभए पछि परिवारले सहयोगको अपिल गरेको छ ।

१६ वर्ष अघि गोरखाबाट पोखरा आएका गुरुङ पोखरा–१९ लामाचौरस्थित लाङघारीमा बस्दै आएका छन् । मिस्त्री काम उनी राहतको लागि शान्तिवन बाटिका आईपुगेका थिए । घरमा श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

कमेन्टहरु
Loading...