बुढ्यौली बिसाउने थलो बन्दै ज्येष्ठ नागरिक केन्द्र

प्रकाश ढकाल/पोखरा बिन्ध्याबासिनीकी डम्बीका रेग्मी उमेरले ९० टेकिन् । पूरै चाउरिएको गाला । हाँस्दा रुद्रघण्टी प्रष्टै देखिन्छ । टाउकोमा एउटै पनि कालो कपाल छैन । उमेर ढल्किएपनि डम्बीकालाई भेट्दा लाग्छ, उनलाई बुढ्यौलीले छोएकै छैन । उनी मज्जासँग भजन गाउँछिन् । लौरी टेकेर भएपनि हिड्दाखेरी अरुको सहारा चाहिँदैन । मौका परे नाच्न पनि भ्याउँछिन् । ‘मनमा चिन्ता परे बुढ्यौलीले छुने त होनि ।

उमेर छँदाका कति साथीहरु स्वर्गिय भैसके, उनले भनिन्–छोराहरु जागिरे छन् । घरभरी नातिनातिना भएपछि बुढेसकालमा के चाहियो र ?’ उनको दैनिकी भजन किर्तन र प्रवचन सुन्नमै बित्छ । नातिनातिनालाई स्कुल पठाएपछि उनी सँधै बिन्ध्याबासिनी मन्दिर परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रमा पुग्छिन् । संगोलका साथीहरुसँग दिनभरी नाचगान र भजन किर्तन गर्छिन् । साँझ परेपछि घर फर्किन्छिन् ।

डम्बीकासँगै उनकी छिमेकी राधिका पराजुली पनि दिनहुँ मिलन केन्द्रमा भेला हुन्छिन् । घर नजिकै भएपनि उतिसारो भेटघाट नहुने यि दुईको दोस्ती अहिले निकै बढेको छ । ‘घरै जोडिएकाहरु पनि पराईजस्ता लाग्थे । कहिलेकाहीँ बाहेक भेटघाट उतिसारो हुन्थेन, पराजुलीले भनिन्–मिलन केन्द्र जान थालेपछि टाढा टाढाका साथीहरु पनि परिवारकै जस्तो लाग्न थालेको छ ।’ बिन्ध्याबासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गरेको जेष्ठ नागरिक मिलन केन्द्र बृद्धबृद्धाको सुखदुख साँट्ने थलो बनेको छ । केन्द्रमा दैनिक ६० बढी जेष्ठ नागरिकहरु भेला हुन्छन् ।

बुढ्यौली बिसाउने थलो बन्दै ज्येष्ठ नागरिक केन्द्र
बुढ्यौली बिसाउने थलो बन्दै ज्येष्ठ नागरिक केन्द्र

‘सुरुमा बृद्धबृद्धा नपाएर मिलन केन्द्र नै बन्द गर्नुपर्ने होकी जस्तो भएको थियो । टोलटोलमा पुगेर बुढा मान्छे खोज्न थाल्यौं, केन्द्रका सदस्य माधव पराजुली भन्छन्–अहिले मान्छे धेरै भएर समस्या हुन थालेको छ ।’ प्रत्येक वडामा यस्ता केन्द्र स्थापना गर्न सके बृद्धबृद्धाले भुल्ने ठाउँ पाउने उनको भनाई छ । ‘शहर स्वभावैले ब्यस्त हुन्छ । छोराछोरी काममा गएपछि बुढा भएका बाबुआमा घरमा एक्लै बस्नुपर्छ, उनले भने–टोलटोलमा मिलन केन्द्र बनाउन सके बृद्धाश्रम आँफै बन्द हुन्छ ।’ उनका अनुसार मिलन केन्द्रमा आएका बृद्धबृद्धालाई धार्मिक क्षेत्र विकास समितिले नै खाजा र चियाको ब्यवस्था गरिदिएको छ ।
केन्द्रले ज्येष्ठ नागरिकको जमघटसँगै उनीहरूको रेखदेख, स्वास्थ्य सेवा, भोजन र भ्रमणको ब्यवस्था पनि मिलाएको छ । ‘विकसित देशहरुमा पनि बुढेसकाल एक्लै विताउनुपर्ने बाध्यता छ । सन्तानको कचकचले कति बृद्धबृद्धाहरु बृद्धाश्रम बेश ठान्छन्, बिन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले भने–मिलन केन्द्र साँच्चिकै बरदान सावित भएको छ । छोराछोरीलाई बाबुआमा बोझ बनेका छैनन् ।’ सहयोगदाताकै सहयोगबाट मिलन केन्द्र सञ्चालन भएको उनले बताए ।

बुढ्यौली बिसाउने थलो बन्दै ज्येष्ठ नागरिक केन्द्र
बुढ्यौली बिसाउने थलो बन्दै ज्येष्ठ नागरिक केन्द्र

बृद्धबृद्धा थपिएपछि अहिले ठाउँको अभाव हुन थालेको उनी बताउँछन् । ‘३० जनाको स्टिमेट गरेर केन्द्र सुरु गरेका हौं । अहिले दिनमै ७० जनासम्म आउँछन्, उनले भने–विस्तारै यसलाई बढाउने बाध्यता बढेको छ । यस बिषयमा बहश हुन थालेको छ ।’ केन्द्र सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषमा हाल १० लाख रुपैयाँ छ । केन्द्रका लागि महिला विकास कार्यालय कास्कीले ३ लाख र जिल्ला विकास समितिले ७५ हजार रुपैयाँ विनियोजन गरेको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार नगरका अन्य वडाहरुमा पनि जेष्ठ नागरिक मिलन केन्द्र स्थापनाका लागि स्थानीयहरुले नै पहल थालेका छन् । विन्ध्यवासिनी मन्दिर हाताभित्र यसअघि खानेपानी कार्यालय रहेको ५ कोठे भवनलाई ब्यवस्थापन गरेर जेष्ठ नागरिक मिलन केन्द्र बनाईएको हो । यहाँ ७० बर्ष पुगेका बृद्धबृद्धा जमघट हुन्छन् ।

कमेन्टहरु
Loading...