संगीतकर्मी जय कुमारले एक वर्ष शोक मनाए

राजाराम पौडेल

पोखरा बैशाख १२/वि.स. २०७२ साल बैशाख १२ गते गायक तथा संगीतकार जय कुमार परियार काठमाण्डौमा थिए । काठमाण्डौमा रहेको समयमानै गोरखाको वारपाक केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको शक्तिशालि भुकम्प आयो । चारैतीर कोलाहल, भागदौड मच्चियो ।

संगीतकर्मी जय कुमारले एक वर्ष शोक मनाए
संगीतकर्मी जय कुमारले एक वर्ष शोक मनाए

उनी सुरक्षीत ठाउँमा पुगेकोले भुकम्पले केही गरेन तर पनि आफ्नै आँखा अगाडि ठुला ठुला संरचना भत्कीए, कयौलाई ती संरचनाले घाइते बनायो त कयौको ज्यान पनि । हजारौ घरवार विहिन भए भने कयौ टुहुरा । यसरी भएको क्षती र भुकम्पका कारण देखिएको कहालिलाग्दा ती दृश्यले उनलाई पटक्कै निन्द्रा लागेन । हुन त उनको घर परिवार वा आफन्तलाई केहि भएको थिएन । तर पनि एउटा नेपालीको पीडामा अर्को नेपालीलाई दुःख कहाँ लाग्दैन र ? यसरी उनी साह्रै दुखित मात्र भएनन्े दुःखमा पिडित बनेकाको पिडामा साथ दिन प्रण समेत गरे ।

फलस्वरुप एक वर्ष सबै पिडितलाई आफ्नै घरपरिवारको सदस्य सम्झेर उनी शोकमा बस्ने निर्णयमा पुगे । राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने राष्ट्रिय भावनाबाट अभिपेरित बनेका उनले यो एक वर्षको अवधिमा टिका समेत नलगाई भुकम्पबाट ज्यान गुमाएका र पिडित बनेकाको शोक उनले मनाए । उनै परियारले भुकम्प गएको वार्षीक दिन आइतबार टिका फूकाएका छन् । आर्दश कला केन्द्र र जय म्युजिक सेन्टरको आयोजनामा वात्सायन वृद्धाश्रमका पोखरा १८ बाच्छेबुडुवामा एक कार्यक्रमकाबिच आइतबार पण्डित युवराज वाग्लेले उनलाई टिका लगाई टिका फुकाइ दिएका हुन् ।

मुक्तिनाथ वाहिनीका सहायक वाहिनीपती एस एस पी कृष्णभक्त बर्माचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, केन्द्रिय सदस्य चोलेन्द्र पौडेल, प्रतिष्ठान गण्डकीका वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङ, सचिव सुरेन्द्र गुरुङ, वात्सायन वृद्धाश्रमका पोखरा १८ बाच्छेबुडुवाका उपाध्यक्ष रेशम जिसी, ओम फाउन्डेसनका अध्यक्ष दिल कुमारी गुरुङ लगायतले उनको कामको खुलेरै प्रशंसा गरे । कार्यक्रममा उनले वृद्धाश्रममा रहेका वृद्धवृद्धाको लागि खाद्यान्न सामाग्री र फलफुल वितरण गरेका थिए ।

खौला लाकुरी– ७, पर्वत स्थायी ठेगाना भएका जय कुमार परियारको जन्म भारतको शिलाङ्गमा भएको हो । उनको ५ वर्षको उमेरबाटनै नृत्यको माध्यमबाट कलाकारीता क्षेत्रमा प्रवेश भएको थियो । १२ वर्षको उमेरबाट पोखराको डाँफे कला मन्दिरमा आवद्ध भै उनले कलाकारीता क्षेत्रको यात्रा अगाडी बढाएका थिए । उनले वि.स. २०५२ सालमा पोखराको पहिलो डान्स ट्रेनीङ सेन्टरको रुपमा आर्दश कला केन्द्रको स्थापना गरे । वि.स. २०५४ सालमानै आफनै आवाज, रचना र संगीतर्मा फर्की आउने बाचा गर्दै’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा उनले डेब्यु उनले गरेका थिए । उनको वि.स.२०६५ सालमा आएको पहिलो एल्बम ‘कल्ले लाने हो’ चर्चामा रह्यो ।

आजभन्दा झण्डै २३ वर्ष अघिबाट साँगीतिक फाँटमा प्रवेश गरेका उनले हालसम्म २ सय भन्दा बढि गीतमा संगीत भरीसकेका छन् भने केहि गीतमा रचना र आवाज समेत भरेका छन् । आर्दश कला केन्द्र, जय म्युजिक सेन्टर, पोखरा लोक संगीत समुह, नेपाल नृत्यकार संघ, नेपाल भारत मैत्री संघ, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी, डान्स ट्रेनिङ एशोसियसन पोखरा लगायतका संस्थामा आवद्ध छन् । उनले १८ वर्षसम्म पोखराका विभिन्न दोहोरी साँझमा काम गरे । राम्रो नृत्यकार रहेका उनले ठुलो पर्दा तथा सानो पर्दाको विभिन्न चलचित्रमा नृत्य निर्देशन र केही गीतमा नृत्य उनले गरिसकेका छन् ।

कमेन्टहरु
Loading...