ज्येष्ठ नागरिक समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्छ – अध्यक्ष श्रेष्ठ

पोखरा, ४ असार / राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष मदनदाश श्रेष्ठले ज्येष्ठ नागरिकले समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ केन्द्रीय समितिको बैठक तथा पोखरा बृद्धाश्रम कार्यसमितिको पदस्थापन तथा सम्मान कार्यक्रममा आज पोखरामा उहाँले ज्येष्ठ नागरिकको हकहितका लागि महासंघ कृयाशिल बनेको बताउनुभयो ।

ज्येष्ठ नागरिकका हक तथा अधिकारको कार्यान्वयनलाई लक्षित गरी कानुनहरू बन्ने क्रममा रहेको बताउँदै उहाँले सरकारबाट एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध हुने गरी ज्येष्ठ नागरिकलाई स्वास्थ्य विमाको व्यवस्था गरेको बताउनुभयो ।

महासंघको केन्द्रीय समिति बैठकले ज्येष्ठ नागरिक हक हितको कार्यान्वयन लगायतका विषयमा विभिन्न निर्णय गरेको बताउँदै उहाँले पोखरा बृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीलाई सल्लाहकारमा मनोनयन गरिएको जानकारी दिनुभयो ।

पोखरा बृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले असहाय, बेसहारा ज्येष्ठ नागरिकको लागि बृद्धाश्रम आवश्यक भएको बताउनुभयो । सञ्चालित बृद्धाश्रमको दीगो व्यवस्थापन राज्यको प्राथमिकतामा पर्नुपर्नेमा उहाँको जोड छ ।

ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश अध्यक्ष कुसुमकेशव पराजुलीले संविधानतः प्राप्त अधिकारको उपयोग एवम् त्यसको सही कार्यान्वयनका लागि महासंघ निरन्तर लागिरहेको बताउनुभयो ।

हालै पोखराका ज्येष्ठ नागरिकले दोलखाको भीमेश्वर दर्शन गरेको प्रशंग उल्लेख गर्दै उहाँले पोखराको विन्ध्यवासिनी र दोखाको भीमेश्वरबीच भगिनी सम्बन्ध कायम गर्दै यिनीहरूलाई धार्मिक पर्यटकीय स्थलका रुपमा जोड्न सकिने बताउनुभयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका निवर्तमान अध्यक्ष डा. गौरीशंकर लाल दाशले ज्येष्ठ नागरिकहरू कुनै पनि तबरबाट समस्यामा पर्न नहुने धारणा राख्नुभयो । उहाँले पोखरासँगको आफ्नो लामो समयदेखिको सम्बन्धको स्मरण गर्दै यहाँको सुन्दरताको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा पोखरा बृद्धाश्रमका निवर्तमान अध्यक्ष टीकाबहादुर भण्डारी, सचिव केशवराज लम्साल, भीमेश्वर नगरपालिका वडा नं २ दोलखाका वडा अध्यक्ष बीराजमान श्रेष्ठ, विन्धवासिनी धार्मिक क्षेत्र विकास समितिका सह सचिव कृष्ण मोहन श्रेष्ठ, पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली लगायतले समाज एवम् राष्ट्रले ज्येष्ठ नागरिकको सम्मानका साथै उनीहरूको अनुभवलाई उपयोग गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पोखरा बृद्धाश्रमका तर्फबाट महासंघका केन्द्रीय अध्यक्ष मदनदाश श्रेष्ठ, निवर्तमान अध्यक्ष डा.गौरीशंकर लाल दाश, भीमेश्वर नगारपालिका वडा नं २ का वडा अध्यक्ष बीरुाजमान श्रेष्ठ, भीमेश्वर पूजा व्यवस्थापन समितिका पदाधिकारी लगायतलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा भीमेश्वर पूजा व्यवस्थापन समितिका तर्फबाट पोखरा बृक्षश्रमलाई १० हजार नगद सहित उपहार प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...