‘जन श्रमदानबाटै बन्यो मार्की १ किलोमिटर कृषि सडक’ बाटोका लागि बजेट पारिदिने सांसद पहारीको प्रतिबद्धता

पोखरा, २७ असार / महानगर भएर पनि १ मिटरपनि पिचबाटो नभएको पोखरा महानगरपालिका वडा नम्बर २३ का बासिन्दाले जन श्रमदानबाट बाटो निर्माण गरेका छन् ।

पोखरा–२३ मार्कीस्थित धर्मडाँडा र मौरेबगरबासीले संयुक्त रुपमा मौरेबगरदेखि हर्पनखोला सम्मको ग्रामिण कृषि सडक निर्माण गरेका हुन् । मौरेबगरदेखि हर्पनखोलासम्म करीब १ किलोमिटर सडक निर्माण गर्न ६ लाख खर्च भएको बाटो निर्माण समितिका अध्यक्ष नन्दलाल लामिछानेले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएर महामारीको रुप लिएको नोभेल कोरोना भाइरस (कोभिड–१९) का कारण लगाइएको लकडाउनका कारण देशै ठप्प रहेको बेला मौरेबगर र धर्मडाँडाबासीले लकडाउनलाई नै अवसरको रुपमा लिई शत प्रतिशत जन श्रमदानमा बाटो निर्माण गरेका हुन् ।

‘जन श्रमदानबाटै बन्यो मार्की १ किलोमिटर कृषि सडक’
‘जन श्रमदानबाटै बन्यो मार्की १ किलोमिटर कृषि सडक’

लकडाउन अघि नै काम शुरु गरेका थियौं,‘बाटो निर्माण समितिका अध्यक्ष लामिछानेले भने,‘तर लकडाउन भएको केहि दिन बाटो निर्माण अलपत्र प¥यो, तर हामीले प्रशासनबाट पास बनाएर निर्माण सामग्री मगायौं र बाटो निर्माणलाई निरन्तरता दियौं ।’ उनले कोरोना कसैलाई अभिसाप भएर आएपनि आफूहरुको लागि अवसर भएर आएको बताए ।

जन श्रमदानबाट निर्माण भएको कृषि सडकको शनिबार गण्डकी प्रदेश सांसद राजिव पहारीले उद्घाटन गरे । उद्घानका अवसरमा स्थानियले पोखराको कोर सिटीसँग जोडिएको र फेवातालको सबैभन्दा नजिकको क्षेत्र भएरपनि मौरेबगर, धर्मडाँडालगायतका क्षेत्रले विकासको मुख देख्न नपाएको गुनासो गरे । उनीहरुले जन श्रमदानबाट निर्माण भएको सडकलाई अझ मजबुत बनाउनका लागि तटबन्धन गर्नुपर्ने भन्दै त्यसका लागि बजेट पारिदिन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

सो अवसरमा बोल्दै प्रदेश सांसद राजिव पहारीले भदौ भित्रमा जन श्रमदानबाट निर्माण भएको बाटो थप बलियो बनाउनका लागि बजेट पार्ने आश्वासन दिए । म अहिले यति नै बजेट त भन्न सक्दिनँ,‘सांसद पहारीले भने,‘तर जन श्रमदान जति भएको छ त्यो भन्दा बढी रकम प्रदेश सरकारको तर्फबाट बजेट पार्ने प्रतिबद्धता जनाउँछु ।’ उनले बाटोको अलावा खानेपानी समस्या समाधान र सामुहिक खेतीका लागि चक्लाबन्दी गर्ने हो भने त्यसका लागि ४०/५० लाख बजेट पारिदिने बताए ।

कार्यक्रममा बोल्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) जीवनकुमार श्रेष्ठले पोखराको कोरसिटी नभई गाउँबस्तीमासमेत सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाए । उनले सुरक्षा, विकास र समृद्धिमा सरकार, जनता र सुरक्षा निकायले हातेमालो गर्दै सहकार्य गर्नुपर्ने बताए । पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीले महानगरबाट आएको बजेटलाई सबै ठाउँमा मिलाएर विकासका काम गर्ने बताए ।

कार्यक्रममा जन श्रमदान गर्ने स्थानियलाई सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...