आइसोलेसनमा भर्ना भएका बिरामीको मृत्यु, स्वाब परीक्षण रिपोर्ट आउन बाँकी

भैरहवा, १६ चैत / बुटवलमा कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आइतबार मृत्यु भएको छ ।

मृतकको कोरोना संक्रमण परीक्षणका लागि आइतबार मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो । उनको रिपोर्ट आइनसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

वैदेशिक रोजगारीका लागि विदेशमा रहेका र चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।

ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाह अनुसार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको खनालले बताए ।

उनको मृत्युपश्चात् उनको परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्नीने उनले बताए ।

कमेन्टहरु
Loading...