गोरखा अस्पतालमा कोरोनाका कारण एक जनाको मृत्यु

पोखरा, २० असार/ गोरखा अस्पतालमा उपचारमा रहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगको छ । डाइबिटीजको दीर्घरोगी समेत रहेको पुरुषको बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको थापाले जानकारी दिए ।

उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि राति ९ः५५ बजे आइसोलसनमा राखेर उपचार सुरु गरेको उनले बताए । उनी असार १६ गते कतारबाट आएपछि पालुङटारस्थित जीवन ज्योति माविको क्वारेन्टिनमा बसेका थिए ।

त्यहाँ लगातार खोकी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो ।

कमेन्टहरु
Loading...