गोकुल जयन्तीमा दृष्टिविहिन विद्यार्थीलाई सहयोग

पोखरा, ८ जेठ /तनहुँ सम्पर्क समाज पोखराले ८९ औं गोकुल जोशीको जन्म जयन्तीको अवसरमा दृष्टिविहीन विद्यार्थीका लागि सहयोग वितरण तथा साहित्यिक कार्यक्रम गरेको छ । कुँडहर आधारभूत विद्यालय कुँडहर पोखराका विद्यार्थीलाई सहयोग वितरण गरिएको हो ।
चामल, चिउरा, चना, नुनतेल, चाउचाउ लगायत खाद्यान्न सामान सहयोग गरिएको हो ।

१ सय २० जना विद्यार्थी अध्ययनरत विद्यालयमा १० जना दृष्टिविहीन विद्यार्र्थी छन् । दृष्टिविहीन विद्यार्थीलाई आवासीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयलाई खाद्यान्न सहयोग गर्न पाउँदा निकै खुसी लागेको समाजका अध्यक्ष शिवराज पौडेलको बताए । कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय पोखराका लागि कर अधिकृत विजय लामिछानेले दृष्टिविहीन विद्यार्थीलाई ममतामयी वातावरणमा शिक्षा प्रदान गरिनुपर्ने धारणा राखे ।

विद्यालयका अध्यक्ष रूद्रकुमारी गुरूङले खाद्यान्न सहयोगका लागि धन्यवाद ज्ञापन गरिन् । न्यून आयस्रोत भएका अभिभावकका बाबुनानी विद्यालयमा अध्ययनरत रहेको उनले बताइन् । साहित्यकार स्ट्रगल रानाले प्रगतिशील साहित्यको क्षेत्रमा जनकवि गोकुल जोशीको योगदान महत्वपूर्ण रहेको बताए ।समाजका संस्थापक अध्यक्ष चन्द्र विक्रम अधिकारीले समाजले सामाजिक क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेको बताए ।

समाजका उपाध्यक्ष भरत केसीले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक अम्बिका प्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । भीम रानाभाट, चन्द्रावती वाग्ले र निकेश गिरीले कविता वाचन गरेका थिए । गोकुल जन्म जयन्तीको अवसरमा समाजले बर्सेनि सामाजिक काम गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...