गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण, पोखरामा २ जना थपिए

पोखरा, २० असार/ गण्डकी प्रदेशमा शनिबार बिहान थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ७९ पुगेको छ ।

नवलपुरमा ७ जना, म्यादीमा ३, बागलुङ र कास्कीमा २/२, स्याङजा र तनहुँमा १/१ जनामा कोरोना संक्रमण देखिएको हो । नवलपरको देवचुली नगरपालिकाका २० देखि ३९ वर्ष उमेर समूहका ५ जना पुरुष तथा ३० र २५ वर्षका २ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सगँ नवलपुरमा कोरोना संक्रमितको संख्या २ सय ५७ पुगेको छ । त्यस्तै, कास्कीमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरका वडा नम्बर २१ र २५ का २७ र ३३ वर्षीय २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ ।

म्याग्दीमा ३ जनामा कोरोना पुष्टि भएको छ । रघुगंगा २ र मंगला गाउँपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो । म्यादीमा अहिले सम्म १९ जनामा कोरोना देखिएको छ । त्यसै गरि बागलुङका २ जनामा कोरोना पुष्टि भएको छ ।

बरेङ र ढोरपाटन नगरपालिकाका ४२ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । बागलुङमा कोरोना संक्रमितको संख्या २ सय १ पुगेको छ ।

त्यस्तै स्याङ्जा र तनहुँमा २ जनामा कोरोना भेटिएको छ । कोरोना पुष्टि हुनेमा स्याङ्जा पुतली बजारका ३८ वर्षीय र तनहुँ भिमादका ३६ वर्षीय पुरुष छन् । संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको शर्माले बताए ।

गण्डकीमा अहिले सम्म २ सय ९६ जना कोरोना जिते घर फर्किएका छन् भने ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार विहान गोरखामा उपचाररत एक संक्रमितको मृत्यु भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको हो । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । डाइबिटीजको दीर्घरोगी समेत रहेको पुरुषको बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको थापाले जानकारी दिए ।

उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि राति ९ः५५ बजे आइसोलसनमा राखेर उपचार सुरु गरेको उनले बताए । उनी असार १६ गते कतारबाट आएपछि पालुङटारस्थित जीवन ज्योति माविको क्वारेन्टिनमा बसेका थिए ।

त्यहाँ लगातार खोकी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो ।

कमेन्टहरु
Loading...