गण्डकी प्रदेशका मुख्यमन्त्रीको सम्पत्तिः ५१ तोला सुन, नौ भेँडा, सात बाख्रा

विशन क्षेत्री

पोखरा, ५ फागुन / गण्डकी प्रदेश सरकार गठनको २ वर्षपछि बल्ल गण्डकीका मुुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रदेशको सार्वजनिक लेखा समितिले २/२ पटकसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न माग समेत गरेको थियो ।

समितिको निर्देशन र बारम्बार सञ्चामाध्यमको प्रश्नपछि बुधबार सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सामाजिक विकासमन्त्री नरदेवी पुनमगर बाहेक ६ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको विवरण अनुसार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग ५१ तोला सुन छ भने ९० तोला चाँदी छ । सम्पत्ति विवरणमा उनले यसको स्रोत दाइजो, खरिद, पेवा र उपहारबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

उनको लमजुङको खिलुङ ९ कित्ता नं २८१ मा २०४५ सालमा किनेको घर सहितको जग्गा छ । आशकुमारी गुरुङको नाममा खिलुङमा नै २५९ कित्ता नं. मा एकतले २ वटा घर छन् । यस्तै, आशकुमारीकै नाममा खिलुङ ८ र ९ मा नै, ३६४, १४७, १५१, १८२, २१९ र १५९ कित्ता नं. मा २९ रोपनी १४ आना ३ पैसा ३ दाम जग्गा छ ।

यो जग्गा अंशबन्डाबाट प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ । पृथ्वीसुब्बा गुरुङको नाममा खिलुङ ८ मा १३२, २७६, ३३८ र ४८७ कित्ता नं. मा १० रोपनी ३ आना २ दाम अंशबण्डाबाट पाएको उल्लेख छ ।

मुख्यमन्त्रीको व्यक्तिगत खातामा १६ लाख ५० हजार रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरिएको छ । पोखरा शाखा रहेका एभरेष्ट बैंकमा १५ लाख ५० हजार रुपैयाँ र सिभिल बैंकमा १ लाख रुपैयाँ मुख्यमन्त्रीको नाममा नगद छ ।

उनका छोरा विज्ञान गुरुङको नाममा लक्ष्मी बैंकमा १० लाख रुपैयाँ छ भने नबिलमा ६० लाख रुपैयाँ नगद छ । यसको स्रोत पारिश्रमिक भनेर उल्लेख गरिएको छ । क्होँलासोथर गाउँपालिकाको उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री पत्नी कुमारीमुनि गुरुङको नाममा सिभिल बैंकमा ३ लाख ५० हजार रुपैयाँ नगद छ । यस्तै, कुमारीकै नाममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा पाँच लाख रुपैयाँ बैंक मौज्दात छ ।

राष्ट्रिय वाणिज्य बैंक जावलाखेलमा २ लाख रुपैयाँ पनि कुमारीकै नाममा छ । यो रकमको स्रोत पारिश्रमिक भनेर उल्लेख गरिएको छ । मुख्यमन्त्रीका छोरा विज्ञान पेशाले पाइलट हुन । उनको नाममा पिपुल्स हाइड्रो कम्पनीमा शेयर १५ हजार कित्ता शेयर छ ।

यो रकम जग्गा बेचेर प्राप्त भएको जनाइएको छ । यस्तै, सवारीको हकमा छोरी इश्वरी गुरुङको नाममा स्कुटर १ लाख २० हजार रुपैयाँ मूल्यको, विज्ञान गुरुङको मोटरसाईकल ५ लाख रुपैयाँ पारिश्रमिकबाट, माउण्टेन बाइक पनि छ । मुख्यमन्त्रीले सम्पत्ति विवरणमा भेँडीगोठमा रहेका नौ वटा भेँडा र सातवटा बाख्रा पनि समावेश गरेका छन् ।

साभार

http://https://baahrakhari.com/news-details/247847/2020-03-18

कमेन्टहरु
Loading...