लगानी सम्मेलनमा गण्डकी प्रदेशका विद्युतीय रेलदेखी मनाङमा स्की रिसोर्ट सम्म

पोखरा, १२ चैत /सरकार र निजी क्षेत्रबाट पेश गरिएका परियोजनाहरुमा कालीगण्डकी जलविद्युत परियोजना, काठमाण्डौं–पोखरा–लुम्बिनी विद्युतीय रेलदेखि मनाङमा स्की रिसोर्ट निर्माणसम्म समेटिएका छन् ।

लगानी बोर्डका सूचना अधिकारी राजु गुरागाईँका अनुसार लगानी सम्मेलनमार्फत ती परियोजनामा लगानी आमन्त्रण गरिने छ । सरकारको तर्फबाट गण्डकी प्रदेशलाई लक्षित गरी गण्डकी प्राविधिक विश्वविद्यालय, हेम्जामा एकिकृत कृषि परियोजना संचालन, काठमाण्डौं–पोखरा– लुम्बिनी रेल÷विद्युतीय रेल, तालतलैया पर्यटन परियोजना, मनाङमा स्कि रिसोर्ट, दमौली बहुउदेश्यीय पर्यटन परियोजना प्रस्ताव गरिएको छ ।

यीमध्ये गण्डकी प्राविधिक विश्वविद्यालय स्थापनाको घोषणा प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेटमै गरेको थियो । उता, निजी क्षेत्रले मध्य कालीगण्डकी, कालीगण्डकी गर्ज र म्याग्दीखोला जलविद्युत र अन्नपूर्ण सिक्लेस केवलकार परियोजना अगाडि सारेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले यसअघि नै सिक्लेसमा केवलकार बनाउने घोषणा गर्दै अध्ययनको लागि बजेट पनि छुट्याएको थियो । सरकारले विभिन्न ७१ परियोजनामार्फत ३५ खर्बको लगानीको प्रस्ताव गर्न लागेकोमा गण्डकीका यी परियोजना लगानी सम्मेलनमा लगानीको लागि तयार भएका हुन् ।

सरकारले रेल मन्त्रालयमार्फत अगाडि सारेको काठमाण्डौं–पोखरा रेलमार्गको लागि मात्र २८ सय ३० मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्ने यो रेलमार्ग १ सय ८७ किलोमिटर लामो हुनेछ । ४४ वटा भूमिगत सुरुङसहित यो परियोजनाअन्तर्गत मादी नदीमा सबैभन्दा लामो अर्थात १२ सय ९५ किलोमिटर लामो पुल बन्नेछ । लगानी बोर्डले रेल परियोजनाको आह्वानपत्रमा चुच्चे रेलको तस्वीर राख्दै १० वर्षे अनुभवीलाई यो परियोजना दिन सकिने जनाएको छ ।

यता, गण्डकी प्रादेशिक विश्वविद्यालयको लागि तनहुँको शुक्ला गण्डकी नगरपालिका प्रस्ताव गरिएको छ । भानुभक्त क्याम्पसले चर्चेको ३३ एकडसहित सो विश्वविद्यालयको लागि झण्डै ९५ एकड जमिन उपलब्ध रहेको जनाउँदै परियोजना सम्पन्न गर्न ६१ मिलियन अमेरिकी डलरको प्रस्ताव गरिएको छ । विश्वविद्यालयमा मेडिकल साइन्सदेखि विभिन्न ६ विषयको अध्ययनको सुविधा दिइने पनि विश्वविद्यालयको लक्ष्य रहेको छ ।

हेम्जाको एकिकृत कृषि परियोजनाअन्तर्गत कोल्डस्टोर,कृषि उत्पादनको प्रशोधन केन्द्रदेखि बिक्री केन्द्रसम्मको कल्पना गरिएको छ । त्यहाँ बन्न कोल्डस्टोर ४ हजार मेट्रिक टन क्षमताको हुनेछ । कोल्डस्टोरसँगै फलफूलको प्रशोधन, प्याकेजिङ तथा बिक्री केन्द्र बनाइनेछ । मनाङ÷मुस्ताङको स्याउ, पोखरेली जेठोबूढो, बागलुङ र म्याग्दीमा पाइने सिमीहरुलाई ब्राण्डिङ गरी बेच्ने थलो पनि हेम्जा नै हुने प्रस्तावमा उल्लेख छ ।

५ दशमलव ५३ मिलियन अमेरिकी डलर रहेको यो परियोजनाको लागि जग्गा गण्डकी प्रदेश सरकारले उपलब्ध गराउनेछ । सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार संंचालन हुने परियोजनामा बढीमा ३० वर्षको हुनेछ । ३० वर्षपछि यो परियोजना निर्माण कम्पनीले सरकारर्ला बुझाउनु पर्नेछ ।सरकारको महत्वाकांक्षी योजनामध्येको मनाङको स्की रिसोर्ट स्कीका पारखीहरुको गन्तब्य बन्नेछ ।

४० वटा सुबिधासम्पन्न कोठाको यो रिसोर्टले वर्षभर पर्यटकहरुलाई हिमाली दृष्यावलोकनका साथै स्की खेल समेत खेलाउनेछ । सय मिलियन अमेरिकी डलरको यो परियोजनामा त्यहाँ बाह्रै महिना हिउँमा खेलिने स्कीको लागि हिउँ जमाउने प्रबिधी पनि जडान गरिनेछ ।

नेपालको निजी क्षेत्रबाट तयार पारिएको मध्य कालीगण्डकी ५३ दशमलव ५३९ मेघावाटको हुनेछ । हाइड्रो सपोर्ट प्रालिले दिएको अध्ययन प्रतिवेदन अनुसार यो परियोजना म्याग्दीको तातोपानीमा बन्नेछ । ८५ मिलियन अमेरिकी डलरको यो परियोजनाको लागि नेपाल विद्युत प्राधिकरणले निर्माण अनुमति र विद्युत खरिद सम्झौता पनि गरिसकेको छ ।

परियोजना सन् २०२३ सम्म सम्पन्न हुने कम्पनीले जनाएको छ । कालिगण्डकी गर्ज जलविद्युत परियोजना मुस्ताङको थसाङमा बन्नेछ । २ सय ६० मिलियन लागतको यो परियोजना पैसा हुनासाथ निर्माणमा जानेछ । हाइड्रो सोलुसन प्रालिका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानका अनुसार यो परियोजनाबाट उत्पादित बिजुली दाना सब स्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।

यसैगरी बहुप्रचारित कास्कीको सिक्लेस केवलकार ६ हजार ८ सय ५० मिटर लामो हुनेछ । सिक्लेसको भुल्चुबाट सुरु हुने केवलकार कोरीमा पुग्नेछ । केवलकारसँगै होटल, रेष्टुरेण्ट, पार्किङसहितका मनोरञ्जनात्मक गतिबिधि समेटिएको यो परियोजना ३१ मिलियन अमेरिकी डलरको हो ।

सार्वजनिक निजी साझेदारीमा बन्ने परियोजना निजी क्षेत्रले ३० वर्षसम्म संचालन गर्न पाउनेछ । लगानी बोर्डले निजी क्षेत्रले दिएको परियोजनाको लागत थपघट हुनसक्ने र उनीहरुकै अध्ययनको आधारमा लगानी निर्धारण गरिएको पनि जनाएको छ ।

कमेन्टहरु
Loading...