गण्डकीका ३ जिल्लामा बाढी पहिरो, १३ को मृत्यु, १९ बेपत्ता

पोखरा, २६ असार / बिहीबार रातिबाट परेको अबिरल वर्षका कारण गण्डकी प्रदेशको तीन जिल्लामा ठुलो धनजनको क्षती पु¥याएको छ ।

गण्डकीमा म्याग्दी, कास्की र लम्जुङमा १३ जनाको ज्यान गएको छ भने १९ जना बेपत्ता रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । म्याग्दीमा पुल भाचिएको छ भने विकतिपय स्थानमा सडक अवरुद्ध भएका छन् । म्याग्दीमा हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि हुन सकेन ।

कास्कीमा सबै भन्दा धेरै मानविय क्षती भएको छ । कास्कीमा ७ जना, म्याग्दी र लमजुङमा ३/३ जनाको ज्यान गएको छ । म्याग्दीमा १९ जना बेपत्ता छन् ।

कास्कीको पोखरा महानगरपालिका–१८, सराङकोट गोठादीका टंकबहादुर थापा, थापा सहित उनकी श्रीमती सोममाया थापा, दुई नाति र छिमेकी इशिका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पोखरा–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा ७० बर्षिय हिमकला अधिकारीको ज्यान गएको छ । त्यसै गरी पोखरा–२६ का दुर्गाबहादुर सुनारको घर पहिरोमा परेर मृत्यु भएको छ ।

त्यसै गरी म्याग्दीमा बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । म्यादीको धौलागिरि गाउँपालिका–७, ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी लमजुङमा तीनजनाको मत्यु भएको छ । लमजुङको बेंसीशहर नगरपालिका–७, सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । कास्की र लमजुङमा गरी १६ जना घाइते छन् ।

कमेन्टहरु
Loading...