फेवातालको अतिधकतम् क्षेत्रफल जोगिने गरी काम गर्न प्रधानन्यायाधीश जबराको आग्रह

पोखरा, १९ फागुन /प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चको फैसलाबमोजिम फेवातालको अतिधकतम् क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गरेका छन् ।

उच्च अदालत बार एशोसिएसन पोखराले पोखरामा आइतबार उनको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानन्याधीश जबराले तालभित्र कुनै व्यक्तिको जग्गा परेको भए पनि अधिग्रहण गरी पहिलेकै अवस्थामा ताल ल्याउन आफूले नेपाल सरकारका मुख्यसचिवलाई सल्लाह दिएको बताए ।

ताल बचाउन केही समय पहिला सर्वोच्चले गरेको फैसला केही समयमै कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताए । तालको सौन्दर्यता फैसला गरेरमात्र नहुने र यसको संरक्षण सबै नागरिक तथा सरोकारवाला निकाय सक्रिय हुनुपर्नेमा सुझाव दिए ।

नापीका महानिर्देशकलाई खटाएर तालको वास्तविक नापी भैसकेको जानकारी दिँदै उनले फरक–फरक नापीमा समान क्षेत्रफल नआएको बताए । भारतले गरेको हवाई सर्वेक्षणमा देखिएको ताल, यहाँ देखिएको नापीको नक्साको ताल र हालको नाप समान नभएपनि अधिकतम् क्षेत्रफल कायम गर्नुपर्ने उनले जोड दिए ।

उनले कुनै पनि न्यायाधीशले बद्नियत, ढिलासुस्ती र अनियमिता गरेको पाइए छुट नदिइने स्पष्ट पारे । न्यायाधीशले आफ्नो ज्ञान र विवेकलाई आत्मसात गरी स्वाभिमानी र आत्मज्ञानी भै संविधानप्रदत्त कानुनी अधिकार प्रयोग गरी न्यायसम्पादन गर्न आग्रह गरे । उनले न्यायाधीशले गलत फैसला गरे, सो फैसला न्यायाधीशकै घाँटीमा झुण्डिने भएकोले न्यायाधीश सचेत भएरै फैसला गर्ने विश्वास लिए ।

न्यायप्रणाली सुधार गरेर लैजाने आफ्नो लक्ष्य भएकोले अदालतभित्रका कर्मचारी र न्यायाधीशका बारेमा गलत कुरा भएमा कानुन व्ववसायीले पनि निर्धक्क भै बाहिर ल्याउन आग्रह गरे ।

उनले अडियो भिडियोमार्फत् बहस पैरवी गर्ने प्रविधिको विकास गर्ने बताए । उनले प्रविधिले फड्को मारिसकेको अवस्थामा नेपालको न्यायप्रणालीलाई छिटो छरितो बनाउन प्रविधिको विकल्प नभएको बताए ।

कमेन्टहरु
Loading...