फेवातालको पानी पिउन अयोग्य

पोखरा, १८ वैशाख /फेवातालको पानीको ल्याब परीक्षण गर्दा पानी पिउन योग्य नभएको देखिएको छ । खानेपानी तथा शहरी विकास मन्त्रालयको खानेपानी तथा ढल निकास विभाग अन्तर्गत क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय पोखराले पानीको ल्याब परीक्षण गरेको हो । वैशाख १५ पोखरामा छैटौं राष्ट्रिय तथा दक्षिण एशियाली ट्रायथोलन च्याम्पियनसिपका लागि पानीको परिक्षण गरेको हो ।

ट्रायथोलन संघ कास्कीलेले ल्याब परीक्षण गरेको हो । जिल्ला खेलकुद विकास समितका कार्यालय प्रमुख प्रकाश बरालले पउन योग्य छैन् भन्ने रिपोर्ट आएको बताए । परीक्षणको क्रममा तालको पानी क्षारयुक्त रहेको ल्याबको रिपोर्टले जनाएको छ । पानीमा ६.५ देखि ८.५ सम्मको क्षार हुनुपर्ने भएपनि रिपोर्टमा भने ८.७ छ । ‘पानीमा क्षारीय बढेको रिपोर्ट छ’ क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख किरण पौडेलले भने—‘त्यसले गर्दा पानी पिउन योग्य छैन् ।’ पानीमा अन्य फोहोरजन्य रहेको समेत ल्याबको रिपोर्टमा उल्लेख छ ।

कार्यालय प्रमुख पौडेलका अनुसार तालको पानीमा धमिलो छ । ‘धमिलोको मात्रा ४.४ छ’ उनले भने—‘धमिलोपन भएपनि लेभलभित्र रहेको छ ।’ तालमा ढल मिसावट हुदैं आएको छ । वर्षायाममा आउने भलपानीसहितको ढल मिसिदाँ तालको पानीको प्रदुषित बन्दै गएको छ । यद्यपी त्यसतर्फ भने ध्यान कसैले दिन सकेका छैनन् ।

कार्यालय प्रमुख पौडेलका अनुसार पानीमा घुलित पदार्थको मात्रा बढ्दै गएको छ । पानीमा भेटिएको एमोनिया भने ठिक रहेको उनको भनाई थियो । ‘पानीको एमोनिय ०.५ छ’ उनले भने—‘जुन ठिक हो । १.५ सम्म हुुनुपर्छ । त्यसभन्दा बढी प्रदुषणको मात्रा अझ बढ्छ ।’ पानीमा कुहिएको पदार्थले पनि प्रदुषित बनाएको रिपोर्टले देखाएको छ । ‘ई—कोली १०० भन्दा बढी छ’ उनले भने—‘त्यसले पानी पिउन योग्य छैन् भन्ने संकेत गर्छ ।’ रिपोर्ट अनुसार पानीमा नउत्रिने र नथिग्रिने फोहोर रहेको छ ।

पोखरा लेखनाथ महानगरपालिकाले गत वर्षमात्रै फेवातालमा मिसिने ढलको अनुगमन गरेको छ । सर्वसाधारणको घरको बाथरुम तथा किचनबाट पानी सिधै ढलमा मिसाउने गरेको अनुमगनको क्रममा महानगरपालिकाले फेला पारेको थियो । अनुगमन गर्ने क्रममा भेटिदाँ सर्वसाधारणलाई तत्कालै कारवाही प्रक्रिया बढाएपनि अहिले भने उस्तै छ ।

कमेन्टहरु
Loading...