त्रिसट्ठी कला र नौ रसले भरिएको त्रिपाठीको खण्डकाव्य ‘फेवा मानुषी’ विमोचन दाबी

पोखरा, २६ जेठ /साहित्यकार तथा कवि ठाकुरप्रसाद त्रिपाठीको तेस्रो कृति ‘फेवा मानुषी’को शनिबार एक समारोह बीच हिमालयन रिडर्स कर्नर पोखरामा विमोचन गरिएको छ ।

गण्डकी प्रदेशका प्रदेश सांसद माननीय राजीव पहारीले विमोचन गर्नुभएको कवि त्रिपाठीको तेस्रो कृतिमा पूर्वीय साहित्यका चौसट्ठी कलामध्ये त्रिसट्ठी कला र नौ रसको अनुभूति पाठकले गर्न सक्ने कुरा बताइएको छ ।

हालको पोखरा महानगरपालिकाको वडा नम्बर २४, कास्कीकोटमा जम्मनुभएका त्रिपाठीले पूर्व शिक्षक तथा हाल रेडक्रस सोसाइटी कास्कीकोट उपशाखा र प्रसिद्ध धार्मिक तथा पर्यकटीय स्थल गुप्तकालिका कश्यप धार्मिक क्षेत्र विकास समितिमा आबद्ध रहेर सामाजिक कार्यहरू गर्दै आउनुभएको छ ।

व्यस्त समयका बाबजुत पनि साहित्य रचनामा निरन्तर लागिरहनुभएका त्रिपाठीका यसभन्दा अगाडि दुई कृतिहरू ‘राम्रो म’ र ‘आर्तनाद’ प्रकाशित भइसकेको कुरा पूर्व सहकर्मी तथा शुभचिन्तक भीम सुवेदीले स्रष्टाको परिचयमा बताउनुभएको छ ।

पोखरा महानगरपालिका अन्तर्गत पर्यटनको विकासमा महत्त्वपूर्ण मानिने फेवाताललाई ब्रह्माकी छोरी तथा एक महिलाका रुपमा चित्रण गर्दै दिन प्रतिदिन विविध मानवीय क्रियाकलापका कारण सौन्दर्य विसङ्गत बन्दै गएको विषयलाई मुख्य आधार बनाएर लेखिएको उक्त खण्डकाव्य पाठकले एउटै बसाइमा पढ्न सक्ने ५२ पेजको रहेको बताइएको छ ।

कृतिकार भन्नुहुन्छ, “सृष्टिकर्ताकी छोरी मानुषी या प्रकृतिको बेजोड कला हिमशैलको काखमा फेवा शीतल छायाँ पाएका छौँ । हामीले भूत, भविष्य र वर्तमान पाएका छौँ । राष्ट्रजन जीवित होउन्जेल फेवा जीवित हुनुपर्छ र हुने छ । यसको विखण्डको प्रक्रिया पनि मानव र राष्ट्रबाटै हुन्छ । छाललाई ढाल बनाएर बाच्नेहरू वर्गस्वार्थको निम्ति काम गर्छन् र एक दिन फेवाको नामो निसान नरहन सक्छ । फेवा बचाउन भए पनि मेरा कविता किन ।”

पोखराका अग्रज साहित्यकार, समालोचक, लेखक, साहित्यप्रेमी युवाहरू तथा पत्रकारहरूको उपस्थितिमा विमोचन गरिएको उक्त समारोहमा प्रमुख अतिथि माननीय सांसद राजीव पहारीले नीति नियमले देश तथा समाजमा ल्याउन नसकेको परिवर्तन साहित्यमार्फत ल्याउन सकिने विषय स्पष्ट पार्दै फेवातालको विग्रँदो अवस्थालाई रोक्न ‘फेवा मानुषी’ खण्डकाव्यले ठूलो सहयोग पु¥याउने कुरा आफ्नो मन्तव्यमा व्यक्त गर्नुभएको छ ।

साहित्य सेवामा समर्पित ‘दीपशिखा साहित्य सङ्गम’ कास्कीको आयोजनामा सम्पन्न उक्त समारोहको सञ्चालन संस्थाका अध्यक्ष रामजी आचार्यले गर्नुभएको थियो भने कार्यक्रममा मदरल्याण्ड माविको कक्षा दसमा अध्ययनरत दिपसन गुरुङले खण्डकाव्यका छ श्लोक वाचन गरेका थिए ।

कमेन्टहरु
Loading...