होटल संघद्वारा फेवा ताल सफाई

पोखरा, १५ भदौ ः पश्चिमाञ्चल होटल संघ पोखराले बुधबार आयोजना गरेको फेवा तालबाट जलकुम्भी झार हटाउने कार्यक्रममा सयौं सहभागीले सक्रियताका साथ भाग लिएका छन् । फेवा किनारको क्याम्पिङचोक घाटदेखि खहरेसम्म करिव पाँच सय मिटरको दुरीमा सरसफाई तथा तालबाट जलकुम्भी झार हटाउने कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पनि साथ रहेको थियो ।

होटल संघद्वारा फेवा ताल सफाई
होटल संघद्वारा फेवा ताल सफाई

पोखराका विभिन्न पर्यटकीय संघसंस्था, नागरिक समाज, आमा समूह र क्लवहरुबाट समेत कार्यक्रममा प्रतिनिधित्व रहेको थियो । डुंगा व्यवसायी संगठनले निशुल्क डुंगाहरु उपलब्ध गराएको थियो । पश्चिमाञ्चल होटल संघ पोखराको वार्षिक कार्यक्रम अनुसार यसपटक पनि सरसफाई तथा तालबाट जलकुम्भी हटाउने कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष भरतराज पराजुलीले बताए ।

संघले हरेक बर्ष फेवा तालबाट जलकुम्भी झार हटाउँदै आएको स्मरण गराउँदै पराजुलीले केही मात्रामा भए पनि यसबाट तालसंरक्षणमा टेवा पुगेको बताए । पोखराको मात्र नभई नेपालकै गहनाको रुपमा रहेको फेवा तालको संरक्षणमा राज्य नै गंभीर भएर लाग्नुपर्ने भनाई समेत पराजुलीको रहेको छ ।

फेवा तालकै संरक्षणका लागि संघले हरेक वर्ष नेपाली नयाँ बर्षका अवसरमा फेवा नवबर्ष महोत्सव समेत आयोजना गर्दै आएको छ । ताल सफाईका लागि निशुल्क डुंगाको व्यवस्था समेत संघले गरेको छ ।

कमेन्टहरु
Loading...