कारको ट्रायल दिदा ३०० को सट्टा अब २४ रुपैयाँ मात्र, नयाँ गाडीको प्रयोग हुने

पोखरा, ९ माघ / सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिदा तिर्नु पर्ने शुल्कमा भारी छुट हुने भएको छ । यस अगाडि ट्रायल दिन कार प्रयोग गरेबापत ३०० सय रुपैयाँ शुल्क तिनुपर्ने बाध्यता थियो । अबदेखि २४ रुपैयाँ मात्रै शुल्क तिरेर ट्रायलका लागि कार प्रयोग गर्न सकिने भएको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकी र सनराइज ड्राइभिङ स्कुल अन्तर्गतको कुसुम सप्लायर्सको सहकार्यमा उक्त रकममा छुट प्रदान गर्न लागिएको हो । माघ १५ गतेबाट लागु हुने गरी सम्झौता भएको सनराइज ड्राइभिङका अध्यक्ष वसन्त भट्टचनले जानकारी दिए ।

चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला ३ सय रुपैयाँ तिर्नुपर्नेमा २४ रुपैयाँ मात्र शुल्क लिन सुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई धेरै राहत हुने भट्टचन बताउँछन् । ट्रायल दिने क्रममा बसका लागि ७ सय रुपैयाँ लिने गरिएकोमा १ सय ८९ रुपैयाँ, मिनीबसका लागि पहिला ६ सय रुपैयाँ लिने गरिएको अब १ सय २४ रुपैयाँ र ट्याक्टरका लागि ५ सय रुपैयाँ लिने गरिएकोमा अब ८९ रुपैयाँ शुल्क लाग्नेछ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र र सनराइज ड्राइभिङ अन्तर्गतको कुसुम सप्लायर्सबीच गत पुस २३ गते सम्झौता भएको हो । नयाँ शुल्कमा ट्रायलमा उपलब्ध हुने गाडीहरु नयाँ विशेषतासहितका हुने बताइएको छ । यस अगाडि पुराना मोडलका गाडीहरुबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ । युरो मापदण्डका २०१९ मोडलका गाडीहरु ट्रायलमा राखिनेछ ।

पावर स्टेरिङ, एसि, पावर विन्डोज, एबिएस एण्ड इबिडी सिस्टम, एयर व्याग, ८ सय सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १ सय ८५ सिसी, व्याक सेन्सर लगायतका विशेषता भएका गाडीहरु ट्रायलमा राखिनेछ बताइएको छ ।

यातायात व्यवस्था कार्यालय सवारीका निमित्त कार्यालय प्रमुख हरिप्रसाद गौतमले शुल्क घट्दा उपभोक्तालाई राहत हुने बताउँछन् । ‘पहिला पुराना मोडलका गाडी थिए । अब नयाँ गाडीबाट ट्रायल दिन पाइनेछ,’ उनले भने, ‘उपभोक्तालाई धेरै राहत हुनेछ ।’

 

कमेन्टहरु
Loading...