डा केसीको समर्थनमा पोखरामा संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई

पोखरा, १० साउन/आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै नागरिक समाज पोखराको पहलमा पोखरामा संकलित हस्ताक्षर बुधबार प्रधानमन्त्रीसमक्ष बुझाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत गत साउन ६ देखि पोखराको चिप्लेढुंगा क्षेत्रमा संकलित ७ हजार १ सय ५५ जनाको हस्ताक्षर कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले जानकारी दिए ।

डा केसीको १५ आंै पटकको अनसनको २६ औं दिन पुगी सक्दा पनि सरकारले गरेको बेवास्ताका कारण उनको नाजुक बन्दै गएको स्वास्थ्य स्थितिप्रति गम्भीर ध्यानाकर्षण समेत गरिएको छ ।

सो ज्ञापनपत्र नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारी, राष्ट्रिय सम्पदा तथा जन अधिकार संरक्षण समिति नेपालका अध्यक्ष एवं नागरिक समाजका निवर्तमान संयोजक रामबहादुर पौडेल, युथ नर्स सञ्जाल नेपाल, पोखराका संरक्षक जीता बराल, चिकित्सक संघ, गण्डकी शाखाका अध्यक्ष डा. निर्मल लामिछाने तथा सामाजिक अभियन्ता, स्वास्थ्यकर्मीले संयुक्त रुपमा प्रजिअलाई हस्तान्तरण गरेका हुन् ।

सो क्रममा राष्ट्रिय सम्पदा तथा जन अधिकार संरक्षण समिति नेपालका अध्यक्ष एवं नागरिक समाजका निवर्तमान संयोजक रामबहादुर पौडेलले माथेमा आयोगको प्रतिवेदन लागू गर्न गरिएको सत्याग्रहको अविलम्ब सम्बोधन गरी डा. केसीको जीवनरक्षाको माग गरे ।

कमेन्टहरु
Loading...