जन्मदिनमा देशभक्तले ल्याए सेदोका संग्रह ‘नेपाली माया’

पोखरा, १ असार/साहित्यका विभिन्न विधामा कलम चलाउँदैआएका बहुआयामिक व्यक्तित्व देशभक्तसिंह कुँवरको पछिल्लो कृति सेदोका संग्रह ‘नेपाली माया’ विमोचन भएको छ ।

आफ्नो जन्मदिन अवसरमा उनले पस्र्याङस्थित धर्मस्थली आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामान तथा खाजा सेट वितरण गर्दै पुस्तक सार्वजनिक गरेका हुन् । सो पुस्तक वरिष्ठ शिक्षाविद् जर्ज जोनले लोकार्पण गरे । उनले धेरै विधामा कलम चलाउने कमै हुने चर्चा गर्दै स्रष्टा कुँवरको अझ सफलताको कामना गरे ।

कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपाली, समीक्षक प्राडा यमबहादुर पौडेल क्षेत्री, समीक्षक मदन भण्डारी, युवा फिल्म निर्देशक घनश्याम लामिछाने, साहित्यकार रमा प्रासर, धर्मस्थली आधारभूत विद्यालयका प्रअ केदारनाथ बराल, कलाप्रेमी रामदेवी कुँवर, कवि शालिकराम नेपाल, पीएनका उपप्रशासक अर्जुनविक्रम राणा, कलाकार सागर शाह, कलाकार तथा निर्देशक जसु गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

सो अवसरमा संचारकर्मी देवेन्द्र एसके र अञ्जना राणाले सेदोका वाचन गरेको संचारकर्मी ऋषिराम दाहालले जानकारी दिए । स्रष्टा कुँवरले कार्यक्रममा सहयोग गर्ने तथा शुभकामना व्यक्त गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आफूले लगातार कृति सार्वजनिक गर्दै जाने बताए । उनले जन्मदिनलाई यसरी नै विद्यार्थी भाइबहिनीबीच खुसीयाली साटेर मनाउने अठोट समेत गरे ।

मेघा एफएम ९५.४ मेगाहर्जको आयोजनामा भएको कार्यक्रम एफएम अध्यक्ष साहित्यकार, शिक्षासेवी क्षेत्रबहादुर कुँवरको अध्यक्षतामा भएको हो । कार्यक्रम संचालन पत्रकार विजय नेपालले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक संचारकर्मी तिर्सनालक्ष्मी गुरुङ, स्रष्टा परिचय एफएमका कार्यक्रम संयोजक अम्बिका राणा र स्रष्टाको व्यक्तित्वबारे गीतकार राजेन्द्र अधिकारी ‘अपूर्णा’ले प्रकाश पारेका थिए ।

सो अवसरमा स्रष्टा देशभक्तले जन्मदिन अवसरमा विद्यार्थीलाई खाजासेट सहित स्टेशनरी सामान वितरण गरेका थिए । २०३० सालमा स्थापित धर्मस्थली स्कुलमा १८ जना शिक्षक कर्मचारी र करिब ३ सय जना विद्यार्थी अध्ययनरत् रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वेदनीधि शर्माले जानकारी दिए ।

स्रष्टा कुँवरले ६ महिना अवधिमै यो सहित ५ कृति सार्वजनिक गरेका छन् । गत वर्ष मंसिर १६ मा गजलसंग्रह ‘लभ स्टेशन’ सहित क्रमशः मुक्तकसंग्रह ‘सेतो संसार’, हाइकुसंग्रह ‘अमृतप्रेम’ र चोकासंग्रह ‘राजमहल’ विमोचन भैसकेको छ । जापानी साहित्यबाट नेपाल भित्रिएको सेदोका ५–७–७, ५–७–७ अक्षरमा ६ लाइनमा लेखिन्छ ।

साहित्यकार सहित संचारउद्यमी, नायक, गायक, संगीतकार, गीतकार, निर्देशकको फराकिलो परिचय बनाएका स्रष्टा कुँवर मेघा एफएमका प्रबन्ध निर्देशक हुन् । उनी सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया र कुँवर राणा गार्डेन सोसाइटीमा हाल अध्यक्ष पनि छन् । हालसम्म एल्बम सहित ३० कृति सार्वजनिक गरिसकेका उनले हरेक वर्षको जन्मदिन विद्यार्थीलाई सहयोग गरी मनाउँछन् ।

कमेन्टहरु
Loading...