पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापन तालिम( यस्तो छ कार्यविधि)

पोखरा, १२ जेठ/ कोरोना संक्रमण फैलिन नदिन यतिबेला देशभर लकडाउन जारी छ । संक्रमणको त्रासका कारण कोरोना संक्रमणको कारण मात्र नभएर अन्य कारणले ज्यान गुमाएका व्यक्तिको समेत अन्तिम संस्कार गर्न चुनौती देखिएको छ ।

यसै अवस्थालाई मध्येनजर गरेर पोखरामा कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसि) कास्कीको आयोजना र रेडक्रस कास्कीको व्यवस्थापनमा विपद् पश्चात शव व्यवस्थापन आधारभूत तालिम सम्पन्न भएको छ ।

कास्कीमा कोरोना संक्रमण नदेखिएको भएपनि कुनै विपद् आइलागे र ज्यान गुमेको अवस्थामा शवको कसरी व्यवस्थापन गर्ने भन्ने चुनौति रहेकाले तालिम दिने सोच अनुरुप तालिम दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञनप्रसाद कोइरालाले जानकारी दिए । ‘हामीकहाँ संक्रमण भित्रिएको छैन, नभित्रियोस् पनि ।

तर, भोली समस्या आइहाले तयारी गर्नुपर्छ भनेरै यो तालिमको आयोजना गरिएको हो । तालिम मार्फत प्राप्त सिपले व्यवस्थापन गर्नेमा संक्रमणको जोखिम कम गराउने छ । सुरक्षित वातावरण बन्ने छ ।’ तालिम समापन कार्यक्रममा बोल्दै सिडिओ कोइरालाले भने ।

वर्तमान अवस्थामा कसैको कोरोना संक्रमणबाट ज्यान गुमेमा आफ्नो संस्कार अनुरुप सम्मानजनक ढंगले त्यसको व्यवस्थापनलाई मध्यनजर गर्दै तालिम दिइएको उनले बताए ।  कोरोना होस् वा अन्य जस्तोसुकै प्रकोपमा परेर ज्यान गुमाएकाको शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा तालिम फलदायी रहेको रेडक्रस कास्कीका सभापति डोलराज पाण्डेले जानकारी दिए । यस्तो तालिम गाउँ तहसम्म पु¥याउन जरुरी देखिएको उनले बताए ।

सरकारले कोरोना भाइरस (कोभिड—१९)ले कसैको ज्यान गुमेमा कसरी शव व्यवस्थापन गर्ने भनेर कार्यविधि बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमै टेकेर तालिम दिइएको रेडक्रस गण्डकीका अध्यक्ष सूर्यप्रसाद ढकालले जानकारी दिए ।

तालिममा कोरोना भाइरस को परिचय, संक्रमण, प्राव र नियन्त्रण, शव व्यवस्थापन परिचय र महत्व, शव व्यवस्थापन सम्बन्धि नेपालमा कानुनी व्यवस्था र संस्थागत संरचना, शव व्यवस्थापनका चरणहरु र कार्यविभिाजन, शव व्यवस्थापनमा घटना स्थल र व्यक्तिगत सुरक्षा सामाग्रिहरु एवं आवश्यक उपकरणहरु, शव व्यवस्थापनमा सरुवा रोगको जोखिम, शव सनाखत फारम र प्रमाण हस्तान्त्ररण फाराम सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको थियो ।

तलिम समापनको अवसरमा कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव व्यवस्थापनको डेमोस्टेसन समेत प्रस्तुत गरिएको थियो । तालिम समापनको अवसरमा तालिमको विषयबस्तुको समिक्षा तालिम संयोजक खेमराज सापकोटाले गरेका थिए भने, सहभागिको तर्फबाट गोपाल चन्द्र बराल र दीपेन्द्र विष्टले बोलेका थिए । तालिममा तीन वटै सुरक्षा निकाय, कास्कीका सबै स्थानिय तहका प्रतिनिधि समेत गरेर २२ जनाको सहभागिता थियो ।

यस्तो छ सरकारले तयार पारेको कार्यविधि

सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ । अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने छ ।
मृतकको शवलाई कमभन्दा कम चलाउने गर्नुपर्छ । शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउदाँ सर्तकता अपनाउनुपर्छ । शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्छ ।

अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ । मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउनेछन् ।

कमेन्टहरु
Loading...