कोरोना भाइरस संक्रमित युवतीसँग जहाजमा पोखरा आएका अरु यात्रु कहाँ छन् ?

केशवशरण लामिछाने
पोखरा, १६ चैत / कोरोना भाइरसको संक्रमण देखिएकी बागलुङकी युवती काठमाडौंबाट पोखरा आउँदा चढेको यती एयरलाइन्सको जहाजका अरु यात्रुको अवस्थाबारे सरोकारावाला अहिले सम्म बेखबर छन् । ती युवती ५ चैतको मध्याह्न काठमाडौंबाट पोखरासम्म यती एयरलाइन्सको जहाजबाट पोखरा आएकी थिइन्, जसमा अरु दर्जनौं व्यक्ति सवार थिए ।

बेल्जियमबाट आएकी ती युवतीमा कोरोनो संक्रमण पुष्टि भएपछि उनलाई शनिबार बागलुङ अस्पताल भर्ना गरिएको छ। परिवारका अरु सबैजना घरमै सेल्फ क्वारेन्टाइनमा बसेको युवतीका पिताले बताए ।

ती युवतीसँग यतीको जहाजमा को को आएका थिए र अहिले उनीहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने खोजी भएको छैन। उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा राख्नुपर्नेमा त्यस्तो कुनै प्रयास कतैबाट पनि भएको छैन ।

अरु यात्रुहरुमा पनि संक्रमण सरेको भए र उनीहरु क्वारेन्टाइनमा नबसेको भए धेरैलाई सरेर महामारी फैलन सक्छ। यस्तो संवेदनशील मामलामा पनि सरोकारवाला बेखबर छन् ।

गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले युवती एक दिन पोखरामा बसेको उनका इष्टमित्रको परिवारका सबैलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिसकिएको जानकारी दिए ।

प्रदेशका अधिकारीले उक्त परिवार पहिचान गरी घरमै पुगेर उक्त आग्रह गरेको बस्नेतले बताए। जहाजबाट आएकाको पनि खोजी भइरहेको उनले सुनाए ।

कोरोना रोकथामका लागि निर्मित प्रदेश स्तरीय समितिका फोकल पर्सनसमेत रहेका प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मा क्वारेन्टाइनको जिम्मेवारी स्थानीय तहको भएको बताउँछन्। उनलाई पनि संक्रमित युवतीसँग पोखरा आएका हवाई यात्रुबारे थाहा छैन।

बरु बागलुङमा ¥यापिड रेस्पोन्स टिम पुगेर संक्रमितको सम्पर्कमा आएका सम्भावितको खोजी थालेको जानकारी उनले दिए । कास्कीमा ¥यापिड रेस्पोन्स टिमकी संयोजक डा. आर्या रायमाझीले संक्रमित युवतीसँग जहाजमा पोखरा आएकाहरुको पहिचान र खोजी हुँदै गरेको बताइन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले ती हवाई यात्रुुको खोजीबारे आफूभन्दा माथिल्ला अफिसरलाई थाहा हुने बताए। यती एयरलाइन्सको पोखरा कार्यालयका स्टेसन म्यानेजर राम लामिछाने आफूहरुको कार्यालय यतिबेला बन्द रहेको जानकारी दिए । उनले भने, ‘खै उहाँ (संक्रमित युवती) आएको जहाजका यात्रु विवरण हामीसँग कसैले मागेको छैन, यहाँको अफिस बन्द छ, माथिबाटै समन्वय भएको होला नि।’

बागलुङ पुगिसकेपछि परिवार बाहेकसँग पनि भेटघाट गरेकी थिइन् । बागलुङ बजारसमेत घुमेकी उनको सम्पर्कमा आएका व्यक्ति र उनी गएर खाजा खाएका रेस्टुरेन्टहरु पहिचान गर्न खोजी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

युवती पोखरासम्म जहाजमा आई एक दिन यतै आफन्तकहाँ बसेर जिपबाट बागलुङ पुगेकी थिइन् । त्यो जिपका अरु यात्रुको पनि खोजी र पहिचान गर्न बाकी छ ।

अन्नपूर्णपोष्टबाट साभार

http://http://annapurnapost.com/news/151681

कमेन्टहरु
Loading...