पोखरा २१ मा कनेक्टिङ सडकको काम तीव्र

पोखरा, ३ जेठ/पोखरा महानगरपालिकाको केन्द्रसँग जोड्ने वडा नम्बर २१ को प्राथमिक स्वास्थ्य चौंकीदेखि शिवढुंगासम्मको सडकलाई स्तरोन्नति गरिने भएको छ ।

पोखरा महानगरपालिकाले कनेक्टिङ सडक अन्तर्गत त्यसलाई स्तरोन्नति गर्नका लागि टेन्डर गरी निर्माण कम्पनीसँग सम्झौता समेत गरेर काम अगाडि बढाएको छ ।

उक्त ठाउँमा नालासहित ३ किमी सडक ग्राबेलिङ गरिने महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए । उनका अनुसार महानगरले उक्त काम गर्नका लागि एक करोडमा टेन्डर निकालेकामा पोखरा कन्स्ट्रक्सन प्रालि पोखरा ८ ले ६२ लाख ३५ हजार हजारमा काम सक्ने गरी सम्झौता गरेको छ ।

निर्माण कम्पनीले गत वैशाख २ गते सम्झौता गरी काम सुरु गरेको हो । उक्त काम सक्ने समयसीमा आगामी भदौसम्म तोकिएको छ । सडकमा १ हजार ५५ मिटर नाला निर्माण, १२ वटा कल्र्भट, ५० मिटर रिटेनिङ पर्खाल, ३ किमी सडक ग्राबेल गरिने छ ।

उक्त सडकको वडा नम्बर २१ वडाध्यक्ष खगराज आचार्यसहितको प्राविधिक टोलीले कामको गुणस्तर र प्रगतिबारे बिहीबार अनुगमन समेत गरेको छ । वडा २१ का सब इन्जिनियर अनील आचार्यका अनुसार सडकको काम करिब १५ प्रतिशत भएको छ । सडक नालासहित ८ मिटर फराकिलो हुनेछ ।

कमेन्टहरु
Loading...