कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिका लागि उचित व्यवस्था मिलाउन कास्की काँग्रेसको माग

पोखरा, २६ जेठ/ नेपाली काँग्रेस कास्कीले आमनागरिकलाई असर नपर्ने र त्रास सृजना नहुने गरी कोरोनाका कारण मृत्यु भएका व्यक्तिको अत्येष्टि गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
आमनागरिकलाई असर नपर्ने गरी र त्रास सृजना नहुने गरी अन्त्येष्टिका लागि सुरक्षित स्थानको व्यवस्था मिलाउन माग गर्दछौ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा पोखरामा कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिका लागि पोखरा मणिपालस्थित सेती नदी किनार लैजादा पोखरा वडा नं ११ र २० का स्थानीयको विरोधपछि प्रशासनले दमन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

कोरोनाका कारण मृत्यु भएकाको अन्त्येष्टिका लागि मानववस्ती भन्दा टाढा रहेको कुनै स्थान छनोट गर्दा उपयुक्त हुने कास्की काँग्रेसको ठम्याइ छ । वर्षायाममा सेती नदी किनारमा शव गाड्ने निर्णय अव्यवहारिक भएको ठहर गर्दै उचित स्थानको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा कोरोनाको महामारी बढिरहेका बेला आमनागरिकमा त्रास बढ्नु स्वभाविकै भएको भन्दै आमनागरिकको भावना विपरीत कुनै पनि काम नगर्न पोखरा महानगरपालिका र प्रशासनको ध्यानाकर्षण गरिएको छ।

प्रशासनसँगको झडपमा पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोला घाइते भएको र स्थानीय हरिश्चन्द्र बास्तोला, जनार्दन बास्तोला, विष्णु नेपाली, पोखरा २० का वडासदस्य भीमप्रसाद बास्तोलालगायत १८ जनालाई गिरफ्तार गरिएकोप्रति निन्दा गर्दै गिरफ्तार गरिएकालाई तत्काल रिहा गर्न माग गरिएको छ । विज्ञप्तिमा कोरानाबाट दिवंगत भएकाको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

पोखरामा कोरोनाबाट मृत्यु भएकाको सेतीनदी किनारमा शव व्यवस्थापन, अवरोध गर्ने १५ जना पक्राउ, नौ जना घाइते

Posted by Ganthan.com on Monday, June 8, 2020

कमेन्टहरु
Loading...