आज चुनावी प्रचारप्रसारको अन्तिम दिन, भोलिदेखि मौन अवधि

Nepal-Election-12013--300x269पोखरा १ मंसिर । संविधानसभा दोश्रो चुनाव प्रचार प्रसारको आज अन्तिम दिन दलका नेताहरु मतदाता रिझाउने अन्तिम कसरत गरीरहेका छन् । निर्वाचन आयोगले चुनावमा सहभागी १ सय २२ दलका लागि आज मंङ्सिर १ गतेसम्म मात्रै प्रचारप्रसार गर्न पाउने समय तोकेको छ ।
आज अन्तिम दिन भएकाले दलका मुख्य नेताहरुको नीकै व्यस्त कार्यतालिका रहेको पाइएको छ ।

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आज काठमाण्डूको आफु उठेको चुनाव क्षेत्रमा घरदैलोका साथै सिन्धुली, सिन्धुपाल्चोक, पर्सा, सिराहालगायतका ठाउँमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, नेपाली काग्रेसका सभापति शुशिल कोइरालाले सुर्खेतमा हुने आमसभालाई सम्बोधन गर्ने तथा आफ्नै चुनाव क्षेत्र बाँकेमा घरदैलो गर्ने कार्यक्रम तय भएको छ भने एमालेका अध्यक्ष झलनाथ खनालले इलामको एकनंबर क्षेत्रमा चुनावी सभालाई सम्बोधन तथा घरदैलो कार्यक्रम गर्ने भएका छन् ।

त्यस्तै एकिकृत माओवादीका डाक्टर बाबुराम भट्टराई, नेपाली काग्रेसका शेरबहादुर देउवा र एमालेका माधवकुमार नेपालको पनि आज दिनभरीको कार्यतालिका नीकै व्यस्त रहेको राजनीतिक दलहरुले जनाएका छन् । मधेस केन्द्रित राजनीतिक दल तथा अन्य साना दलहरुले पनि आज अन्तिम चुनाव प्रचार प्रसारको व्यस्त कार्यतालिका तय गरेका छन् ।

निर्वाचन आयोगका अनुसार भोलि विहान सात बजेपछि राजनीतिक दलले निर्वाचनको प्रचार प्रसार गर्न र नागरिकसँग भोट माग्न पाउँदैनन् । मतदान हुने दिनभन्दा अठचालीस घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म जुलुस निकाल्न, नारा लगाउन, राजनीतिक दल वा राजनीतिक दलसँग आबद्ध संस्थाको झण्डा, निर्वाचन चिन्ह र अन्य कुनै पनि सामग्री प्रदर्शन गर्न र निर्वाचन प्रचार–प्रसार हुने कुनैपनि कार्य गर्नु र गराउनु नहुने कुरा आचारसंहितामा उल्लेख छ ।
यस विपरितका निर्वाचन प्रचार प्रसारका गतिविधि भएमा आयोगले आचारसंहिता उल्लंघन भएको घोषणा गर्दै कानुनी कारवाही गर्नेछ । मंसिर ४ गते विहान सात बजेदेखि मतदान प्रक्रिया सुरु हुने भएकोले त्यसअघिको अठचालीस घण्टाको अवधिलाई मौन अवधि भनिन्छ ।
आम सञ्चार माध्यमले मौन अवधि अर्थात मतदान केन्द्र बन्द हुने समय साँझ ५ बजेसम्म कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचनको प्रचार–प्रसार हुने गरी सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण गर्नु हुँदैन । तर आयोगले प्रवाह गरेको सूचना तथा समाचार सम्प्रेषण, प्रकाशन वा प्रसारण गर्न पाइने कुरा आचारसंहितामा उल्लेख छ ।
आयोगले आचारसंहिता विपरित काम गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । साथै आचारसंहिता उल्लङ्घन गरेको कारणवाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरवाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने उल्लेख गरेको छ ।

कमेन्टहरु
Loading...