चिउली पाचे तमु समाजको महायज्ञ सुरु

पोखरा, ७ चैत/चिउली पाचे तमु समाजको आयोजनामा बुधबारदेखि पोखरामा श्रीमद्भागवत् महापुराण ज्ञानमहायज्ञ–२०७५ सुरु भएको छ ।  पोखरा–१२, चापापानीस्थित समाजको आफ्नै समाजघरमा सुरु महायज्ञ चैत १२ गतेसम्म चल्नेछ । महायज्ञका प्रमुख वाचक भागवताचार्य युवासन्त रोहितराज महाराज (गुरुङ) हुन् ।

महायज्ञ उद्घाटन अघि शोभायात्रा निस्केको थियो । कार्यक्रममा सहभागी अधिकांश गुरुङ समुदायहरु जातीय पोशाकमा उपस्थित थिए । महायज्ञस्थलबाट सुरु शोभायात्रा पुरानोधारा, माटेपानी, शीतलदेवी मन्दिर हुँदै पुनः महायज्ञस्थल पुगेको थियो ।

महायज्ञमा कथावाचन सहित दैनिक पूजा, भागवत् आरती, प्रसाद वितरण, लक्ष्यवर्ती प्रज्ज्वलन, पूर्णवर्ती हुने महायज्ञ मूलआयोजक समिति संयोजक कर्णेल कमानसिंह गुरुङले जानकारी दिए ।
महायज्ञ सुरु हुनु पूर्व दान गरेका समाजका सदस्य एवं महायज्ञ सल्लाहकार भूपू ब्रिटिस आर्मीका डब्लुओटु समाजसेवी गमबहादुर गुरुङ र श्रीमती तिलकुमारी गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

पोखरा–२७, डाँडाकोनाक निवासी गुरुङ दम्पत्ति र उनको परिवारले महायज्ञ पूर्व नै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ दान गरेर पहिलो दाता बनेका हुन् । यस्तै, पोखरा–१२, माटेपानी गुम्बाफेदी निवासी महायज्ञ मूलआयोजक समिति संयोजक कर्णेल कमानसिंह गुरुङ र श्रीमती पदमशोभा गुरुङ परिवारले १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ दान गरेका छन् ।

जनजाति महासंघ पोखरा नगर कमिटी अध्यक्ष समेत रहेका पोखरा २९, भण्डारढिक निवासी जंगबहादुर गुरुङ र श्रीमती गोपीमाया गुरुङले १ लाख ११ हजार १ सय ११ र पोखरा–११, फूलबारी निवासी क्याप्टेन तेजबहादुर गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान दिए । उनीहरुलाई महायज्ञका प्रमुख वाचक रोहितराज महाराज (गुरुङ) ले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेका हुन् ।

चिउली पाचे तमु समाजले पहिलो चोटी आयोजना गरेको सो महायज्ञ सफल पार्न सबै जनाको यस्तै सहयोग आवश्यक रहेका महायज्ञका सल्लाहकार मोती गिरीले बताए । पितृउद्धार साथै चौतर्फी विकासका लागि आयोजित महायज्ञमा भागवत् कथा सुन्न मानिसहरुको उल्लेख उपस्थिति थियो । सिक्किम निवासी प्रमुख वाचक रोहितराजले संगीतमय शैलीमा महायज्ञको कथा वाचन गरेका छन् ।

समाजका ज्येष्ठ सदस्य ९० वर्षीय क्याप्टेन तेजबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता चिउली पाचे तमु समाजका अध्यक्ष सुवेदार रणबहादुर गुरुङले गरेका थिए ।
कार्यक्रम संचालन महायज्ञ सल्लाहकार मोती गिरी र संचारकर्मी देवीजंग गुरुङ तथा स्वागत मूलआयोजक समिति संयोजक कर्णेल कमानसिंह गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...