नागढुङ्गा–पृथ्वीचोक बुटिक चौतारी निर्माण

पोखरा, २३ जेठ /पोखरा महानगरपालिका वडा नम्बर ८ को नागढुङ्गादेखि पृथ्वीचोक सम्म ४४ चौतारा निर्माण गरिएको छ । नागढुङ्गा चौतारा निर्माण समितिले झण्डै सात सय मिटर क्षेत्रफलमा स–साना बुटिक चौतारी बनाएको हो ।

सडक किनारमा हुर्किएका बृक्षाहरुको संरक्षण तथा सौन्दर्यताका लागि वडा कार्यालय वडा नम्बर ८ र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा ति चौतारा निर्माण गरिएको हो । बुटिक चौतारीको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले एक समारोहका विच उद्घाटन गरे ।

चौतारीको उद्घाटन गर्दै मेयर जिसिले पोखरामा महानगरलाई हरित सहरका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । पोखरेलीले स्वस्फुर्त एक घर एक बृक्षा अभियान शुरु गरे पोखरा केहि वर्षमै हरित सहर बन्ने उनको धारणा थियो । पोखरामा कंक्रिट विकासले तिब्रता पाएको बेला चौतारी संरक्षणका लागि गरिने यस्ता कार्य महत्वपूर्ण हुने मेयर जिसिले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडाभित्र वाटोघाटोको प्रयाप्त विकास भएको बताउँदै अव वातावण तथा कृषिजन्य कार्यक्रमलाई पनि वडाले प्राथमिकता दिने औल्याए । महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा नेपालमा पनि देखिएको जनाए । कंक्रिट विकास र बढ्दो बोरिङ्ग निर्माण कार्य पोखराका लागि चुनौती भएको उनले उल्लेख गरे ।

चौतारि निर्माण अनुगमन समितिका सदस्य डम्मरराज सुवेदीले उच्त स्तरिय सामग्रीको प्रयोगमा उत्कृष्ट चौतारी बनेको जनाउँदै निर्माण समितिलाई धन्यवाद ज्ञापन गरे । नागढुङ्गास्थित विभिन्न समुहको तर्फबाट आमा मिलन सहकारी संस्थाका प्रबन्ध निर्देशक ध्रुवराज पौडेलले सामाजिक सृजनात्मक एवं रचनात्मक कार्यमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

निर्माण समितिका अध्यक्ष विनोद लामिछानेले निर्मित चौतारीको संरक्षण अबको चुनौती भएको बताए । चौतारी निर्माण कार्यमा आर्थिक सहयोग गरेको महानगर र वडालाई धन्यवाद ज्ञापन गर्दै लामिछानेले अब आ–आफ्नों घर अगाडी बनेको चौतारीको संरक्षणमा आफै जिम्मेवार बन्न पनि टोलबासिलाई आग्रह गरे । समितिका कोषाध्यक्ष कमला श्रेष्ठले स्वागत गरेको कार्यक्रम सञ्चारकर्मी इशु श्रेष्ठले सञ्चालन गरेकि थिइन् ।

कमेन्टहरु
Loading...