१८ फिट बुद्ध मुर्तिमा ७ करोड मन्त्र

पोखरा, २८ बैशाख/२५६१औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ्ग सेवा समाजको आयोजनामा लेकसाइड खहरे स्थित रिन्छेन तोर्जेट तामाङ्ग शान्ती गुम्बामा बुद्ध शान्ती पुजा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले एकआपसमा शुभकामना दिइ बुद्धले बिश्वभर फैलाएको शान्ती उपदेशलाई पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा रिन्छेन तोर्जेट तामाङ्ग शान्ती गुम्बा लामा समुहका अध्यक्ष लामा छोयाङ्गले बुद्ध शान्ती प्रवचन दिएका थिए । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष ज्याक तामाङ्गले गुम्वामा अवस्थित १८ फिट अग्लो बुद्धको मुर्तिलाई बिश्वको सबैभन्दा गहिरो भागको माटो, गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी तथा उहाँले ज्ञान हासिल गरेका स्थानको माटोका साथ ७ करोड भन्दा बढि मन्त्र राखेर निर्माण गरिएको बताए ।

पोखरामा प्राकृतिक दृष्य हेर्न मात्र नभई धार्मिक पर्यटकलाई लोभ्याउनका लागि पनि गुम्बा तथा गुम्बामा राखिएको मुर्तिले सहयोग पुर्याउने तामाङ्गले बिश्वास ब्यक्त गरे । समाजका सदस्य रामबहादुर तामाङ्गको संयोजकत्वमा भएको पुजा तथा शुभकामना कार्यक्रममा गीता लामाले स्वागत तथा राम लामा र डोल्मा लामाले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...