पोखरामा बुद्धजयन्तीको सप्ताहव्यापी कार्यक्रम शुरु

वैशाख १० पोखरा /२५६२ औं बुद्धयन्तीको अवसरमा पोखरामा सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । कार्यक्रमको पहिलो दिन सोमबार विहान धेछेलिङ्ग गुम्बा दीपबाट शुभारम्भ भएको साईकल र्याली ट्याक्सीचोक, महोरियाटोल, तेर्सापट्टी, महेन्दपुल, नयाँबजार, पृथ्वीचोक, सृजनाचोक, हल्लनचोक, लेकसाईड, विरौटा हुँदै विश्वशान्ति स्तुप अनदुमा पुगेर कार्यक्रम भएको थियो ।

शान्ति स्तूपमा सामूहिक पञ्चशील ग्रहण, लामा गुरु र जापनीज भिक्षु निप्पोनजान नियोजीबाट शान्तिपाठ पूजा भएको थियो । विश्वशान्ति स्तुप समिति अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तममान बुद्धाचार्यले स्वागत मन्तव्य राख्नुभयो । बुद्धजयन्ती मूल समारोह समिति अध्यक्ष नरेन्द्र लालचन, साईकल सिटी पूर्व अध्यक्ष जितेन्द्र शाक्य लगायतले मन्तव्य राख्नुभएको थियो भने समिति सहसचिव प्रकाश उदासले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रम अन्तर्गत बौद्ध अर्घो सदन र मोहोरियाटोल बुद्ध चैत्यमा बुद्धपूजा भएको छ ।

पोखरामा बुद्धजयन्ती मूल समारोह समितिले विभिन्न बौद्ध संघसंस्थाको संयोजनमा सप्ताहव्यापी कार्यक्रम तय गरेको हो । कार्यक्रम अन्तर्गत प्रभातफेरि, भोजन तथा फलफुल वितरण, धर्मदेशना, गणचक्र पूजा, गाईघाट चितास्थल सरसफाई, प्राणदान (माछा छाड्ने), स्वास्थ्य शिविर, बुद्धपूजा, शान्तिदिप यात्रा, शान्ति दीप प्रज्वलन, लगायत कार्यक्रम गरिने बुद्धजयन्ती मूल समारोह समिति अध्यक्ष नरेन्द्र लालचनले जानकारी दिनुभयो ।

सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति र महारिनिर्वाण वैशाख पूर्णिमाकै दिन परेकाले यस तिथिलाई विशेष पर्वका रुपमा बुद्धजयन्ती मनाईदै आएको छ । पोखरामा बौद्ध अर्घो सदन रामघाट, धर्मशीला बुद्धविहार नदीपुर, विश्वशन्ति स्तुप अनदु, अन्तराष्ट्रिय बुद्ध परियति, बुद्ध उदय विहार नागढुंगा, सुखावती बौद्ध गुम्बा गाईघाट लगायत बौद्ध गुम्बा एवं चैत्यहरुमा बुद्धजयन्तीका कार्यक्रमहरु आयोजना भएका छन् ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन वैशाख १७ अर्थात् बुद्धजयन्तीका दिन पोखरामा पदयात्रा र धर्मसभा हुने भएको छ । धर्मशीला बुद्धविहार नदीपुरबाट शुरु हुने पदयात्रा पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड हुँदै पोखरा सभागृहमा पुगेर धर्मसभामा परिणत हुने मूल समारोह समितिका अध्यक्ष लालचनले जानकारी दिनुभयो ।

यसैबीच बुद्ध पूर्णिमाका दिन भगवान् गौतम बुद्धको तस्वीर तथा बौद्ध झण्डा सडक खण्डतिर सजाएर राखिदिन र साँझ दिपावली गरिदिन पनि समितिले सबैसँग आग्रह गरेको छ । पोखरामा वि.सं. २०१० को अन्त्यतिरदेखि बुद्धजयन्ती मनाउने परम्परा थालनी भएकोमा विगत एक दशकदेखि सामूहिक रुपमा विभिन्न कार्यक्रम गरि सप्ताहव्यापी बुद्धजयन्ती मनाईदै आएको छ ।

कमेन्टहरु
Loading...