रक्तदान गर्नाले भइदैन कमजोर

पोखरा, १० जेठ /प्रत्येक तीन महिनामा शरिरले नयाँ रगत उत्पादन गर्ने भएकाले स्वास्थ्व व्यक्तिले नियमित रुपमा रक्तदान गनुपर्नेमा जोड दिइएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले सोमवार पोखरामा आयोजना गरेको रक्तदाता उत्प्रेरणा कार्यक्रममा बोल्ने वक्ताहरुले शरिरमा भएको रगत दान गर्नाले विरामीले नयाँ जीवन प्राप्त गर्ने बताए ।

रक्तदान गर्नाले भइदैन कमजोर
रक्तदान गर्नाले भइदैन कमजोर

सो अवसरमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले विरामी तथा घाइते मानिसको ज्यान बचाउन रगत बाहेक अरु विकल्प नभएकाले रक्तदाताको संख्या वृद्धि गर्न जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । रेडक्रस कास्कीका सभापति बामदेव ढुङ्गानाले स्वयमसेवी रक्तदाताको सहयोगले नै कास्कीमा रगतको अभाव नभएको बताउदै आगामी दिनमा नियमित रुपमा रक्तदान गर्न आग्रह गर्नुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका वरिष्ठ प्याथोलोजिष्ट डा. मुकुन्दा शर्माले ७२ जिल्लामा रक्तसञ्चार सेवा उपलब्ध रहेको जानकारी दिनुभयो ।

नेपालमा प्रत्येक दिन १ हजार २ सय युनिट रगतको माग छ । दैनिक ५० युनिट रगत पूर्ति हुने गरेको छ । यहाँ नियमित २ सय ५० संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् । विश्वमा ९० प्रतिशत कम्पोनेन्ट रगतको प्रयोग हुने गरेको छ भने नेपालमा कम्पोनेन्ट रगतको प्रयोग करिव ५० प्रतिशत प्रयोग भएको पाइएको छ । पोखरामा प्लेटलेट रिच प्लाज्मा, प्लाज्मा, प्याक सेल र होल ब्लड गरि कम्पोनेन्ट रगत तयार गरिन्छ । चिकित्सकको सिफारिसमा विरामीको आवश्यकता अनुासर रक्त तत्व मात्रै प्रदान गर्नाले बाँकी रगत अरु विरामीको लागि उपयोग गर्न सकिन्छ ।

क्षेत्रीय रक्तसञ्चारमा रगतको तत्व छुट्याउने प्रविधिकासाथै इलाइजा प्रविधिबाट रक्त परिक्षण लगायतका सेवा प्रदान गरिने रेडक्रस कास्कीका कोषाध्यष एवम् स्वास्थ्य समितिका संयोजक धर्मराज अधिकारीले जानकारी दिनुभयो । १८ वर्ष पुरा भएका स्वस्थ्व पुरुषले तीन तीन महिनाको फरकमा र स्वस्थ महिलाले चार चार महिनाको फरकमा रक्तदान गर्नसक्नेछन् । गर्भवती महिला, दुर्घटनामा परेका घाइते, शल्यक्रिया, डाइलोसीस गरिरहेका र हेमोफेलियाका विरामीहरुलाई रगत अति आवश्यक पर्दछ ।

कार्यक्रममा पोखराका विभिन्न संघसंस्था तथा स्वयमसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो । उनीहरुले सो अवसरमा रक्तदान सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । हाल पोखरामा सरकारी र निजी गरि १८ वटा अस्पताल सञ्चालित छ । यसमध्ये २ वटा मेडिकल कलेज छन् ।

पोखरामा विस २०३५ शालमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको पहलमा स्थापना भएको क्षेत्रीय रक्तसञ्चार सेवा पोखराले हाल कास्कीमा वार्षिकरुपमा झण्डै १५ हजार युनिट रगत संकलन गर्ने गर्दछ । यस क्षेत्रमा महिला रक्तदाताको संख्या १३ प्रतिशत रहेको छ । यहाँ शान्तिदिप अभियानद्धारा सञ्चालित आकस्मिक रक्तदान युनिटले आकस्मिक वा ताजा रगत आवश्यकप पर्ने विरामीको लागि तत्काल रगत उपलब्ध गराउदै आएको युनिट व्यवस्थापक हरिश्चन्द्र शर्माले जानकारी दिनुभयो ।

यस क्षेत्रमा संकलन गरिएको रगत काठमाडौ, चितवन, बुटवल लगायतका क्षेत्रमा पनि पठाइने गरिएको रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति वामदेव ढुङ्गानाले जानकारी दिनुभयो । बढ्दो जनचेतनासँगै रक्तदान गर्नेको सङख्या पनि बढ्दै गएको छ । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका वरिष्ठ प्याथोलोजिष्ट डा. मुकुन्दा शर्माले राष्ट्रिय रक्त कार्यक्रम, प्राध्यापक डा. विष्णुराज तिवारीले रगत र दिपेन्द्र श्रेष्ठले रक्तदाता उत्प्रेरणा सम्बन्धि सहजिकरण गर्नुभएको थियो । रेडक्रस कास्कीका सभापति बामदेव ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखाका उपनिर्देशक खेमराज सापकोटाले गर्नुभएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र क्षेत्रीय रक्तसञ्चार सेवा पोखराको सहयोगमा सो कार्यक्रम भएको हो ।

कमेन्टहरु
Loading...