विषादीको सहि उपयोग गर्न किसानहरुलाई विज्ञको सुझाव

पोखरा, २८ माघ / किसानहरुले तरकारी तथा फलफूल खेति गर्दा जथाभावि बिषादीजन्य पदार्थको प्रयोग गर्न कृषि विज्ञ बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताएका छन् । उनले विषादीको प्रयोग सुरक्षित हुनुपर्नेमा जोड दिए । क्षेत्रिय बाली संरक्षण प्रयोगशाला पोखराले मगंलबार पोखरामा आयोजना गरेको क्षेत्रिय बाली संरक्षण गोष्ठीमा शर्माले भने–‘बिषादीको जथाभावि प्रयोगले मानव स्वास्थ्यमा नै प्रतिकुल असर पार्छ त्यसैले यसको प्रयोगमा विशेष सतर्कता अपनाउनुपर्छ ।’

दैनिक जीवनमा प्रयोग हुने तरकारी तथा फलफूलमा मानव स्वास्थ्यमा जोखिम असर पार्ने बिषादीहरु प्रयोग नगर्न उनले किसानहरुलाई निर्देशन दिएका छन् । क्षेत्रिय बाली संरक्षण गोष्ठीमा बोल्दै क्षेत्रीय कृषि निर्देशक धर्मदत्त बरालले किसानहरुलाई विषादीजन्य पदार्थको जथाभावि प्रयोग नगर्न सुझाव दिए । ‘विषादीले मानव स्वास्थ्यमा गम्भिर असर पार्छ ।’ निर्देशक बरालले भने, ‘विषादी छर्दा किसानहरु पनि सचेत हुनुपर्छ । नत्र विषादीको सोझै असर किसानमा त पर्छ नै त्यसले उपभोत्तालाई रोगी समेत बनाउँछ ।’

अनियन्त्रित बिषादीको प्रयोगले मानव स्वास्थ्यमा नै विकराल समस्या ल्याउने भएकोले त्यस तर्फ सचेत रहन किसान तथा उपभोक्ताहरुलाई कृषि विज्ञहरुले सुझाब दिएका छन् । कृषि अनुसन्धान केन्द्र बागबानी प्रमुख एवं बरिष्ठ वैज्ञानिक रामबहादुर के.सीले किसानले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका वातावरण मैत्री एवं मानव जीवनमा प्रतिकुल असर नपार्ने खालका विषादीहरु प्रयोग गर्न आग्रह गरेका छन् ।

बिषादीको व्यवस्थापन, भण्डारण तथा प्रयोगमा किसानहरुले विशेष सजकता अपनाउनुपर्ने क्षेत्रिय माटो परीक्षण प्रयोगशाला पोखराका बरिष्ठ माटो विज्ञ इन्द्रबहादुर ओलीले बताएका छन् । उक्त गोष्ठीमा पश्चिमाञ्चलका १४ जिल्लाका जिल्ला बाली संरक्षण प्रयोगशालाका प्रतिनिधी तथा प्रमुखहरुले आआफ्ना जिल्लाका बाली संरक्षणका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...