दोषीमाथि कारवाहीको माग

हतियार देखाएर मध्यरातमा अदालतबाटै विप्लब कार्यकर्तालाई पक्राउ गरिएकोमा विरोध

पोखरा, २ असार /उच्च अदालत बार एशोसियसन पोखराले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समर्थित) कार्यकर्तालाई हतियार देखाएर मध्यरातमा अदालतबाटै प्रहरीले पक्राउ गरेको भन्दै विरोध जनाएको छ । आईतबार एशोसियसन पोखराले शान्तिपूर्ण ्यालीको आयोजना गरी प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापन पत्र समेत बुझाएको छ ।

बार एशोसियन पोखराका अध्यक्ष रोहित बाँस्तोला र सचिव विनोद रेग्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अदालतको आदेशको पालना गर्न र मानवअधिकारको रक्षा गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् । एशोसियनका अध्यक्ष बाँस्तोलाले भन्नुभयो–‘रातको १२ बजेको समयमा वडा प्रहरी कार्यालय बैदामका डिएसपीको नेतृत्वमा रहेको टोलीले अदालत भित्र अनाधिकृत रुपमा ट्रक प्रवेश गराई जबरजस्त बारको कार्यालय भित्र बसेका विप्लव समर्थित कार्यकर्तालाई बन्दुक देखाएर जबरजस्ती पक्राउ गर्नु निन्दनीय कार्य हो ।’

अदालतको आदेशले थुनामुक्त भएकालाई तुरुन्त पक्राउ गर्नु मानवअधिकारको घोर उल्लंघन र अदालतको मर्यादामा आँच आउने निन्दनीय कार्यको घोर भत्र्सना गर्दै अध्यक्ष बाँस्तोलाले यस घटनामा संलग्न दोषीमाथि कार्वाही गर्नु पर्ने माग राख्नुभयो ।

अध्यक्ष बाँस्तोलाले भन्नुभयो–‘बार एशोसियसनको कार्यालय भित्र रहेका विप्लव समर्थित कार्यकर्तालाई को कसको निर्देशनमा नियन्त्रणमा लिईएको हो, सत्यतथ्य सम्बन्धमा छानबिन गरी दोषीमाथि आवश्यक कारवाही गरी स्वतन्त्र न्यायपालिकाको रक्षा गरियोस् । आईन्दा यस्ता घटनाले पुनरावृत्ति नपाउन् ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापन पत्र बुझाउँदै स्वतन्त्र न्यायपालिकाको गरिमाको रक्षा गरियोस्, कानुनी राज्यको अवधारणालाई सम्मान गरियोस्, अदालतको अनुमती बिना अदालतको परिसर भित्र अनाधिकृत प्रवेश एवम् नागरिकलाई गैरकानुनी रुपमा पक्राउ गर्ने कार्य बन्द गरियोस् र मानवअधिकारको संरक्षण गर्न कानुन व्यवसायीहरुले माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बुढाले कहीँ कतै प्रक्रिया विधि अनुसार हुन गएको छैन भने छानबिन गर्ने र सुरक्षाको विषयमा अलि गम्भिर रुपमा लिईने बताए ।

कास्की प्रहरीले गत जेठ २५ गते अन्नपूर्ण गाउँपालिका वडा नं. ११ उरीस्थित आमा समूहको भवनमा बैठक बसिरहेको बेला नेकपा कास्कीका जिल्ला सेक्रेटरी विवेक भण्डारी (आक्रोश), जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सचिवालय सदस्य मिलन राई, अन्नपूर्ण गाउँपालिकाका

सेक्रेटरी सन्तोष विक, विद्यार्थी नेता प्रकाश बाँस्तोला, आस्था नेपाली, उपेन्द्र परियार, प्रमोद सिं, दीपेन्द्र बुढा, रवीन पौडेल, कमला परियार, प्रतिक्षा भण्डारी, अनिता परियार, देवी गुरुङ, राजन साउद, सुजन सापकोटा, बसन्त अर्याल, गगन परियारलाई पक्राउ गरेको थियो । उनीहरु मध्ये ९ जनालाई राज्यद्रोह र ९ जनालाई सार्वजनिक मुद्दा चलाएको थियो ।

उनीहरु मध्ये ९ जनालाई उच्च अदालत पोखराले गत शुक्रबार नै रिहाको फैसला सुनाएको थियो । दिउँसोदेखि सिभिलमा खटिएका प्रहरीले अदालत घेराऊ हालेपछि उनीहरु पुनः पक्राउ पर्ने डरले बार एशोसियसनको कार्यालय भित्र बसेका थिए । जसलाई मध्यरातमा प्रहरीले हतियार देखाउँदै जबरजस्ती डाँडाकोनाक प्रहरी चौकीमा लगेर राखेको छ ।

सोही घटनाले चौतर्फी विरोध भईरहेको बेलामा पोखरामा पनि कानुन व्यवसायीहरुले शान्तिपूर्ण कार्यक्रमको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । कास्की प्रहरीले आईतबार नै सार्वजनिक मुद्दा चलाईएका विप्लवका कार्यकर्ताहरुलाई रिहा गरेको छ ।

कमेन्टहरु
Loading...