विपत कोषमा गुप्तेश्वर महादेव गुफा र डेभिजफल क्लबको सहयोग

पोखरा, ७ जेठ/ पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा महानगरपालिका विपत व्यवस्थापन कोषमा पोखरा १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले ५ लाख सहयोग गरेको छ ।

शनिवार समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको टोलीले ५ लाखको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिसीले सहयोग सानो/ठूलो नहुने भन्दै गुप्तेश्वर महादेव गुफाले गरेको सहयोग सह्रानीय रहेको बताए । महानगरले करिब २५ हजार परिवारलाई राहत वितरण गरिसकेको बताउँदै राहत वितरणमा भएका कमी कमजोरीको बारेमा मसिनो गरी अध्ययन अनुसन्धान गरिएको बताए ।

समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफाको आम्दानीबाट नै महानगरलाई सहयोग गरेको बताउँदै दुई शिक्षण संस्था पनि त्यसैको आम्दानीबाट सञ्चालन भइरहेको बताए । गुफा अवलोकन बन्द हुँदा आम्दानी घटेको उनको भनाइ छ । कोरोना संक्रमण जोखिमबाट उत्पन्न विपदको समयमा महानगरलाई सहयोग गर्न पाउँदा खुसी लागेको वरिष्ठ उपाध्यक्ष गोपाल बरालले बताए ।

समितिका सचिव हरि लम्सालले लकडाउनका कारण समस्यामा परेका पीडितले राहत पाउने वातावरण मिलाउन मिडियाले पनि भूमिका खेल्नुपर्ने बताउँदै सतही भन्दा पनि अध्ययन र अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे ।

यसैगरी छोरेपाटनकै डेभिजफल क्लबले पनि महानगरको राहत कोषमा १ लाख सहयोग गरेको छ । क्लबका अध्यक्ष खेमराज बराल ‘पुष्प’ र उपाध्यक्षले कमलकुमार भुजेलले महानगर प्र्रमुख जिसीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । क्लबका अध्यक्ष वरालले राहत वितरण गर्दा वास्तविक पिडितलाई दिने वातावरण सबैले मिलाउनुपर्ने बताए ।

क्लबका उपाध्यक्ष कमलकुमार भुजेलले समस्यामा परेकालाई महानगरले राहत वितरण गर्नु राम्रो कार्य भएको भन्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

कमेन्टहरु
Loading...