विकल्पले बनाए मापसे गरि मोटरसाइकल चलाए स्टार्ट बन्द हुने प्रविधि

पोखरा, २ पुष/युवा आविष्कारक विकल्प ढुंगानाले मोटरबाइक र स्कुटरमा नयाँ प्रविधिको आविष्कार गरेको दावि गरेका छन् । शुक्रबार पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा उनले हेलमेट नलगाएको र मापसे गरेको खण्डमा दुई पांग्रे सवारी साधन आँफै रोकिने प्रविधिको प्रदर्शन गरे ।

यस अघि नै उनको यो प्रविधिलाई ट्राफिक प्रहरी कार्यालय कास्कीले परिक्षण गरेर प्रमाणित पनि गरिसकेको छ । एक हप्ता विभिन्न चरणमा गरिएको परिक्षणले उनले भने जस्तै नतिजा दिएको पत्रकार सम्मेलनमा उपस्थित असई राजेश थापाले बताए । उनको प्रविधिको परिक्षण पश्चात ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीले औपचारिक रुपमा नै परिक्षण सफल भएको जनाएका छन् ।

कार्यक्रममा ढुंगानाले आफ्नो साभाष नामक यो प्रविधिमा हेलमेटमा दुई थरी डिटेक्टरहरुको प्रयोग गरिएको बताए । उनको यो प्र्रविधिले सडक दुर्घटना न्युनिकरणमा उल्लेख्य भूमिका खेल्ने विकल्पको दावि छ । त्यस्तै उनी अध्ययनरत पोखरा मल्टीमोडेल कलेजका प्राचार्य कृष्ण केसीले विकल्प जस्ता प्रतिभाहरुलाई पलायन हुनबाट रोक्न सरकारी स्तरबाटै पहल हुनुपर्ने बताए । उता उक्त कलेज कै विज्ञान संकायका प्रमुख डा. चन्द्रबहादुर थापाले उनको प्रविधिलाई जनस्तरमा लैजान विस्तृत अध्ययन गर्नुपर्ने खाँचो औल्याएँ ।

तनहुँ मनपाङ घर भइ विगत केही वर्षदेखि पोखरामा बस्दै आएका विकल्पले गत वर्षको युवा प्रतिभा पुरस्कार समेत जितेका थिए । उनले गृहजिल्ला तनहुँ लगायत काठमाडौं, पोखरा जस्ता ठाउँहरुमा समेत आफ्ना आविष्कारहरुको प्रदर्शनी गरिसकेका छन् । यस अघि नै उनले हेलिकप्टर, बम डिस्पोजेबल रोवर्ट, भूकम्प सुचक यन्त्र, म्यानुयल लोडिङ्ग एण्ड लिफ्टिङ्ग रोबर्ट, घाँस काट्ने मेसिन, धान ठटाउने रोबर्ट, फुटबल खेल्ने रोबर्ट लगायत डेढ दर्जन यन्त्रहरुको आविष्कार गरिसकेका छन् ।

कमेन्टहरु
Loading...