भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण

पोखरा, १३ चैत /भुकम्पबाट क्षतिग्रस्त कास्कीको मादी गाउँपालिका वडा नं.५ ठुलास्वाँरास्थित विद्याज्योति आधारभुत विद्यालयको हातामा नवनिर्मित पक्की भवन निर्माण गरी उक्त भवन सहित शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

लायन्स क्लव अफ पोखरा संगम र लियो क्लव अफ पोखरा संगमद्वारा २५ लाख रुपैयाँको लागतमा निर्मित तीन कोठे पक्की भवन र १० लाख रुपैया बरावरको शैक्षिक सामाग्री लायन्स क्लवका डिष्ट्रिक गभर्नर धनराज आचार्यले आज विद्यालयका प्रअ महेन्द्रराज देवकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य सुकमाया गुरुङलाई एक समारोहका बीच हस्तान्तरण गर्नुभयो ।

भौतिक पूर्वाधार निर्माणका साथै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गरि आधारभुत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले क्वलद्वारा तीन थान टेवुल सहित कम्प्यूटर, एक थान प्रोजेक्टर, १३ सेट डेक्स बेन्च र एक बर्षको लागि डाटा प्याकेजको समेत व्यवस्था गरिएको क्लवका अध्यक्ष सीता श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाको सकृयतामा जग तयार पारिएको सो भवन निर्माणमा तितेपानी ट्रष्टबाट पाँच लाख ४७ हजार र बाँकी लायन्स क्लव अफ पोखरा संगमको सकृयतामा स्वीजरल्याण्डस्थित विभिन्न चारवटा क्लवको आर्थिक सहयोग रहेको छ ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर धनराज आचार्यले उक्त नवनिर्मित भवनको उद्घाटन गर्दै भौतिक पूर्वाधारका साथै सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको मन जित्न सक्नु पर्नेमा जोड दिनुभयो ।

लायन्स क्लवका पूर्व गभर्नरद्वय प्रेमबहादुर श्रेष्ठ र दीपक श्रेष्ठले सामाजिक सेवामा समर्पित लायन्स क्लवले शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण लगायतका बिभिन्न क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । लायन्स क्लव अफ पोखरा संगमका पूर्व अध्यक्ष टीकाराम सापकोटाले भूकम्प पश्चात बाँसका कोठामा सञ्चालन गरिएको पठनपाठन दाताको सहयोगबाटै पक्कि भवनमा परिणत भएको उल्लेख गर्नुभयो ।

भूकम्पबाट क्षतविक्षत भएको विद्यालयको भौतिक निर्माणका लागि यस अघि जिल्ला शिक्षा कार्यालयको १९ लाख २२ हजार रुपैयाँ लागतमा चार कोठे ट्रष्ट भवन सहित कुल १७ कोठा रहेको सो विद्यालयमा हाल ४५ जना विद्यार्थी अध्ययनरत छन् भने ११ जना शिक्षक शिक्ष्किका अध्यापनरत रहेको प्रअ महेन्द्रराज देवकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा हिमालय प्राविका प्रअ चिरन्जीवी पौडेल, वडा अध्यक्ष रत्नबहादुर गुरुङ, क्लवका पूर्वअध्यक्ष पम्फा पहारी, लियो पूर्वअध्यक्ष बिवेक सापकोटा, गणेश सापकोटा लगायतले शिक्षा क्षेत्रमा लायन्सको क्लवले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भयो ।

कमेन्टहरु
Loading...