भरतपोखरीमा खुल्यो मिठो पानीको कम्पनी

पोखरा, २० चैत । रोजगारीका खोजीमा देशका युवा दिनानुदिन विदेशिएको वास्तविकतामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा व्यवसायिकतासँगै रोजगारी अभिबृद्धिको लक्ष्यका साथ युवा सकृयतामा पानी कम्पनी सञ्चालनमा आएको छ ।

पछिल्ला समयमा तीव्र रुपमा बजारीकरण भैरहेको भरतपोखरीको चैनपुर फेदीमा झण्डै डेढ करोडको रुपैयाँको लागतमा हिल साइड ड्रिङकिङ्ग वाटर प्रा.लि. सञ्चालनमा ल्याइएको हो ।
कम्पनीका अध्यक्ष खगेन्द्रराज अधिकारीका अनुसार दैनिक १२ जनालाई प्रत्यक्ष रोजगारी दिन सकिने गरी सञ्चालनमा आएको उद्योगबाट दैनिक ५० हजार लिटर पानी बजारमा लगिने छ ।
उद्योगमा ६ जना सञ्चालक छन् ।

उद्योगको उत्पादन ‘मिठो पानी’को आज यहाँ आयोजित उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले भरतपोखरीमा विकासको क्रम तीव्र रुपमा बढीरहेका अवस्थामा औद्योगिकरणले पनि गति लिएको बताए ।

उद्योग सञ्चालनले व्यवसायिकताको विकास सँगै रोजगारी सिर्जना हुने बताउँदै उनले उद्योगको सफलताको कामना गरे । पोखरा ३३ मा विकासका योजना तीव्र रुपमा अघि बढेको उल्लेख गर्दै उनले जनअपेक्षा अनुरुप विकासका कामलाई प्राथमिकताका साथ बढाइएको बताए ।

सञ्चालक गोपिराज तिवारीले गत वर्ष चैत १८ गतेबाट उद्योग सञ्चालनका लागि प्रकृया थालिएको जानकारी दिदै एक वर्ष समयावधिमा उत्पादन बजारमा पु¥याउन सकिएको बताए ।
“बढ्दो बस्ती विकास र बजारीकरणसँगै शुद्ध पानीको माग दिनानुदिन बढीरहेका अवस्थालाई दृष्टिगत गरी उत्पादन सुरु गरेका छौं,” उनले भने ।

हालका लागि एक लिटरको बोत्तलका साथै १९.५ लिटरको जार बजारमा लगिने जानकारी दिदै उनले निकट भविष्यमा आधा लिटरको बोत्तलमा समेत निकाल्ने तयारी गरिएको बताए ।
मिठो पानीलाई पोखरा सहित देशका प्रमुख शहर हुँदै अन्तराष्ट्रिय बजारमा समेत पु¥याउने दीर्घकालिन लक्ष्य राखिएको छ ।

अर्का सञ्चालक सुदनराज अधिकारीले उद्योग सञ्चालनसँगै केही युवालाई प्रत्यक्ष तथा धेरैलाई अप्रत्यक्ष रोजगारी दिन सकिने धारणा राखे । “स्वदेशमा नै रोजगारीका पर्याप्त सम्भावना छन्, नेपाली युवा रोजगारीकै लागि भौंतारिनु पर्ने अवस्था छैन,” उनले् थपे, “व्यवसायिकतासँगै बजार एवम् सर्वसाधारणको मन जित्ने गरी मिठो पानी बजारमा पु¥याउने छौं ।”

वैज्ञानिक सनत कुमार श्रेष्ठले कम्पनीबाट अन्तराष्ट्रिय मापदण्ड अनुरुपको गुणस्तरीय पानी उत्पादन हुने बताए ।

कमेन्टहरु
Loading...