भैरवटोलमा भैरव मन्दिरको शिलान्यास 

पोखरा, ३ जेठ / पोखराको भैरवटोलमा ‘श्री भैरव मन्दिर’को शिलान्यास भएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुक्रबार मन्दिरको शिलान्यास गरे ।
अहिले  भैरव साँस्कृतिक संरक्षण समितिको कार्यालय रहेकै ठाउँमा करिब २ करोडको लागतमा नयाँ मन्दिर बन्न लागेको हो । मन्दिर एक वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको छ ।
पोखरामा करिब २ सय ४० वर्ष पहिला भक्तपुरबाट पोखरा आउँदा नेवारहरुले भैरवको गंगानृत्य संस्कृति पनि बोकेर ल्याएका थिए । उनीहरुले पोखराको जुन ठाउँमा थातथलो बसाले, त्यहीँ भैरवको पूजा गर्न थाले । नेवारहरु भैरवलाई धनको देवता पनि मान्छन् ।
भैरव नाफा नलिई व्यापार गरे रिसाउँछन् भन्ने मान्यता पनि नेवारी परम्परामा रहेको छ । भैरवटोलमा बस्ने नेवारहरुले बाह्रभैरवका मुकुटहरुलाई सानो खरले छाएको घरभित्र बिराजमान गराए । २००६ सालको आगलागिले भैरवमन्दिर पनि छाडेन । २००९ सालमा सोही ठाउँमा तीनतले भवन बन्यो ।
‘२०५० सालमा भएको भैरवनृत्यबाट बचेको पैसा र दाताको सहयोगमा अर्को भवन बन्यो’, भैरव साँस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले भने,‘हरेक ६–६ वर्षमा भैरवमन्दिरबाटै भैरवनृत्य निकालिन्छ,यो परम्परा कायमै रहने विश्वास छ ।’
मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै पोखरा महागरपालिकाका मेयर मानबहादुर जिसीले  आपतबिपतमा चाहिने भनेकै देउता भएको तर्कगर्दै दुष्ट भावना हटाउन पनि भगवानको शरणमा पुग्नुपर्ने धारणा राखे । उनले भैरव मन्दिर धार्मिक पर्यटन प्रवद्र्धनको सहयोगी हुने विश्वास पनि व्यक्त गरे । मन्दिर बनाउन महानगरले सघाउने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै भैरव साँस्कृतिक संरक्षण समितिका सल्लाहकार तीर्थ श्रेष्ठले मन्दिरसँग आस्था मात्र जोडिएको छैन, पर्यटकीय सम्भावना पनि जोडिएको बताए । उनले भैरव मन्दिरको निर्माणले पोखरामा थप एउटा पर्यटकीय गन्तव्य थपिने धारणा राखे ।
नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले साँस्कृतिक सम्पदा र संस्कृतिको संरक्षणको दायित्व समुदायको मात्र नभएर सरकारको पनि भएकोमा जोड दिँदै भवन निर्माणमा सरकारी सहयोग आउनुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका वडा नम्बर २ का अध्यक्ष रामेश्वर मल्लले मन्दिर निर्माणसँगै पोखराको पुरानो बजार क्षेत्रको बाटो र अन्य साँस्कृतिक सम्पदाहरुको संरक्षणमा पनि वडाले ध्यान दिने बताए ।
भवन निर्माण समितिका संयोजक तथा भैरव सास्ँकृति संरक्षण समितिका उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठले सबैको सहयोगले मात्र निर्माण कार्य सम्पन्न हुने भएकाले दाताहरुलाई यथाशक्य सहयोग गर्न अपील गरे । उनको अपीलसँगै शिलान्यासकै बेला दाताहरुले स्वेच्छाले सहयोग रकमको घोषणा समेत गरेका थिए ।
भैरव साँस्कृति संरक्षण समितिका सचिव सुरेन्द्रमान बिजुक्छेका अनुसार सुशीलकुमार गोसलीबाट १ लाख ११ हजार १ सय ११,निर्मल बिजुक्छेबाट १ लाख ५ हजार,रमेश बाटाजुबाट  ५५ हजार ५ सय ५५,महेन्द्र बजिमयबाट ५५ हजार १ सय ५५,तीर्थ श्रेष्ठबाट ५१ हजार,बिक्रम उदासबाट २५ हजार ५ सय ५५,भीमबहादुर श्रेष्ठबाट २५ हजार,कृष्णदेव प्रधानाङ्गबाट २० हजार,चित्रप्रसाद श्रेष्ठबाट १५ हजार ५ सय १५,गोपालप्रसाद श्रेष्ठबाट १५ हजार,गजेन्द्र भारीबाट १२ हजार १ सय ,बुद्धि बजिमयबाट १२  हजार ,कृष्णमान माकाजुबाट १० हजार ५ सय ,दीपक उदासबाट १० हजार ५ सय र गोकर्ण लिगलबाट १० हजार १ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । सचिव सुरेन्द्रमान बिजुक्छेले भने आफू र परिवारको तर्फबाट मन्दिर परिसरमा हिँटी ( कलात्मक धारा ) बनाउने जिम्मा लिएका छन् ।
कमेन्टहरु
Loading...