पत्रकार भीमपाणी बराल गजेन्द्र भण्डारी स्मृति पुरस्कारबाट पुरस्कृत

पोखरा, २६ भदौँ/नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको स्वं गजेन्द्र भण्डारी स्मृति सृजनशिल पत्रकारिता पुरस्कारबाट पत्रकार भीमपाणी बराल सम्मानित भएका छन् । गजेन्द्र भण्डारीको पुण्यतिथिको अवसरमा बराललाई सोमबार सभासद तुलबहादुर गुरुङले पुरस्कृत गरे । उनले नगद २५ हजारका साथमा दोसल्ला, टिका र मालाले सम्मान गरेका हुन् ।

२०३२ सालमा जन्म भएका बरालले २०५६ सालबाट पोखरा हटलाईनबाट पत्रकारिता सुरु गरेका थिए । पोखराको माछापुच्छे एफएम र रेडियो बाराहीमा कार्य गरिसकेका बराल हाल आदर्श समाजका वरिष्ठ संवाददाता, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष, पत्रकार महासंघका प्रदेश नं ४ का पार्षद, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्य हुन् ।

कार्यक्रममा सभासद् गुरुङले पत्रकारितालाई अब नयाँ ढङ्गले लैजानुपर्ने बताए । उनले पत्रकार राज्यको चौथो अंग भएकोले पत्रकारिताको व्यवस्थापन राज्यले गर्नुपर्ने औँल्याए ।  सम्मानित व्यक्तित्व बरालले सम्मानले खुसी र जिम्मेवार बोध भएको महसुश भएको बताए । निरन्तर कामको प्रयास आज यो सम्मान प्राप्त गरेको भन्दै बरालले आगामी दिनमा खुवी र स्वास्थ्यले दिएसम्ममा पत्रकारिता गर्ने प्रतिवद्धता जनाए ।

सोही कार्यक्रममा सभासद् गुरुङले नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पत्रकार कल्याणकारी कोषमा ५० हजार सहयोग गरेको थिए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, पुरस्कारका स्थापन गर्ने स्वं गजेन्द्र भण्डारीका धर्मपत्नी, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रविन्द्र वास्तोला, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेकपा माओवादी केन्द्र कास्कीका सहसंयोजक गंगा पोखरेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले पत्रकारीताका बारेमा चर्चा गरेका थिए ।

गजेन्द्र भण्डारीको व्यक्तित्वमाथि प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतिकले र सम्मानित व्यक्तित्व भीमपाणी बरालको व्यक्तित्वको बारेमा पुरस्कार छनोट समितिका संयोजक कोमलनाथ बरालले प्रकाश पारेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विमला भण्डारीले र सञ्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।

कमेन्टहरु
Loading...