पोखरा, ३ असार/पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीम कुँवरले कार्यालय समयमा उद्घाटन र रिवन काट्न नहिड्ने उद्घोष गरेका छन् । दुई साता अघिमात्र कार्यालयको कार्यकारी अधिकृत रुपमा सरुवा भई आएका कुँवरले पोखरामा पत्रकार भेटघाट एवं परिचयात्मक कार्यक्रममा त्यस्तो बताएका हुन् ।
कार्यालय समयमा यसरी उद्घाटन लगायतका कार्यक्रममा हिड्दा सेवाग्राहीका काम सम्पादन गर्न नभ्याइने हुँदा अति आवश्यकीय काममा मात्र बाहिर निस्कने प्रतिबद्धता व्यक्त गरे । यसअघि नगरपालिकामा सरुवा भै आउने कार्यकारी अधिकृतहरुले विभिन्न योजना सार्वजनिक गर्ने गरे पनि प्रतिबद्धता अनुरुप काम हुन सकेका छैनन् तर म भने कुनै योजना नभै १९ औ नगर परिषद एवं आगामी २० औ नगर परिषद्बाट स्वीकृत हुने नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता पत्रकार माझ गरे ।
उनले पोखरा नगरलाई महानगरपालिका बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नेतर्फ ध्यान दिने बताए । पोखराका सम्पदा फेवाताल जोगाउन फिर्के–बुलौदी खोला सरसफाइ अभियान विस्तार गर्दै जाने उनले बताए । कार्यकारी अधिकृत कुँवरले पोखरा नगरलाई उज्यालो बनाउन सौर्य सडक बत्ती विस्तार गर्ने र प्लाष्टिकका झोला गिलास निषेधित अभियानसँगै बालमैत्री वातावरण, बालमैत्री सहरको रुपमा अघि बढाउने जनाए ।
कार्यक्रममा पत्रकारहरुले पोखरा नगरलाई स्वच्छतर्फ सुझाव दिँदै काम कारबाही पारदर्शी हुनुपर्ने सुझाव दिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले कार्यालयका कर्मचारीहरुलाई तेरो, मेरो र हाम्रो नभनी स्वच्छरुपमा काम गर्न सुझाव दिए । नगरलाई बालमैत्री सहरको रुपमा विभिन्न ठाउँमा होर्डिङ बोर्ड राखिए पनि पार्किङ शुल्क उठाउने ठाउँमा बालबालिकाको प्रयोग भएकोमा ध्यान नगएको बताए
।
नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अनन्तप्रसाद कोइराला, प्रमुख इन्जिनियर शारदामोहन काफ्ले नगरपालिकाका गति विधिबारेमा जानकारी गराएका थिए ।