‘बाबा आनन्द सञ्चार पुरस्कार’ बाट पत्रकार प्रशान्त लामिछाने सम्मानित

पोखरा, २२ जेठ /बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ बाट नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछाने पुरस्कृत भएका छन् । प्रदेश ४ का बन तथा पर्यटन मन्त्री विकास लम्साल, फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठले नगद १५ हजार १ रूपैंया, दोसल्ला, प्रशंसापत्रले सम्मान गरे ।

लामिछानेले प्राप्त गरेको नगद थमन महेश पत्रकारिता प्रतिष्ठान कोषका लागि प्रदान गर्ने घोषणा सोही अवसरमा गरे । लामिछाने बिगत १० बर्षदेखि पत्रकारितामा सक्रिय छन्। उनी नेपाल रिपब्लिक मिडिया अन्तर्गत नागरिकन्यूज डटकमको संयोजक छन्। अग्रज पत्रकार नारायण कार्की संयोजक रहेको प्रतिभा छनोट समितिले वातावरण संरक्षणको क्षेत्रमा कलम चलाएको भन्दै पुरस्कार दिने निर्णय गरेको थियो ।

उनले फेवाताल अतिक्रमणबारे निरन्तर कलम चलाउँदै आएका छन्। उनले फेवातालको जमिन व्यक्तिको नाममा दर्ता भएको बारे निरन्तर समाचार प्रकाशन गर्दै आएका थिए। फेवातालको अतिक्रमित जमिन फेवातालकै नाममा फिर्ता गराउन र ताल छेउछाउ मापदण्ड विपरित बनाइएका संरचना भत्काउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिइसकेको छ।

विश्व वातावरण दिवसका दिन प्रदान गरिने पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा उनका परिवारजनबाट स्थापित भएको हो।पर्वतको कुश्मा नगरपालिका निवासी लामिछानेले राष्ट्रिय स्वाभिमान साप्ताहिबाट पत्रकारिता सुरु गरेका हुन्। उनले जनदिशा दैनिक, राष्ट्रिय समाचार समितिमा समेत काम गरेका थिए। उनी पोखराबाट प्रकाशित गण्डकी खबर दैनिकको कार्यकारी सम्पादक समेत रहेका थिए।

कमेन्टहरु
Loading...