एटिएमको ह्याकरलाई सहयोग गरेको अभियोगमा पोखराको टिका रिसोर्टका सञ्चालक पक्राउ

गोकुल बानियाँ, पोखरा २३ चैत्र/एटिएम ह्याकरलाई सहयोग गरेको अभियोगमा पोखराको टिका रिसोर्ट लेकसाइडका सञ्चालक पक्राउ परेका छन् । एटिएमको डाटा ह्याक गरी रकम निकाल्ने गिरोहलाई सहयोग गरेको अभियोगमा अपराध अनुसन्धान महाशाखाको टोलीले रिसोर्टका सञ्चालक टीका पौडेललाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रहरी नायव उपरिक्षक अजय केसीको नेतृत्वमा आएको प्रहरी टोलीले मंगलवार राती उनलाई होटलबाटै नियन्त्रणमा लिएको हो । उनलाई अनुसन्धानका लागि बुधवार विहानै काठमाडौं लगिएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरी करोडौँ रकम निकाल्ने गिरोहका आठजना पक्राउ गरी अनुसन्धान अघि बढाउने क्रममा पौडेलको रिसोर्टबाट समेत कारोवार भएको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

दुई वर्षदेखि नक्कली एटिएमबाट पैसा चोरी गर्दै आएको गिरोहका नाइके सुरेश केसीसहितका आठजनालाई महाशाखाले चैत्र पहिलो साता पक्राउ गरी अनुसन्धान थालेको थियो । सोहि अनुसन्धानको क्रममा काठमाडौं तथा पोखराका होटल तथा पसलमा रहेका प्वाइन्ट अफ सेल (पिओएस) मेसिनहरूबाट तीन करोड ३१ लाख रुपैयाँ ठगी गरेको तथ्य खुल्यो ।

नक्कली कार्ड स्वाइप गरी टीका रिसोर्टमा रहेको पिओएस मेसिनबाट दुई करोड रुपैयाँ खर्च गरेको अनुसन्धानको क्रममा भेटिएको छ । कार्ड स्वाइप गरेर सपिङ गर्न पिनकोड नचाहिने भएकाले उनीहरूले त्यसरी बनाइएका नक्कली कार्डमार्फत सपिङ गर्दै आएका थिए । तर, सपिङ गर्दा थोरै मात्र पैसा चोर्न सकिने भएकाले पिओएस मेसिन चलाउने सञ्चालकहरूसँगै मिलेर चोरी धन्दा चलाउँदै आएका थिए ।

पिओएस मेसिन चलाउने पसलेलाई ६० प्रतिशत तथा आफूहरूले ४० प्रतिशत लिने सर्तमा उनीहरूले स्वाइप मेसिन घरमै राखेर चोरी गरेको प्रहरीले जनाएको छ । त्यसरी स्वाइप गरेको पैसा पसल सञ्चालकहरूको खातामा जम्मा हुन्थ्यो । त्यही पैसा उनीहरूले बाँड्ने गरेका थिए । पोखराको लेकसाइड स्थित टीका रिसोर्टमा रहेको पिओएस मेसिनबाट दुई करोड रुपैयाँ खर्च गरेको देखाएर रकम निकालिएको गिरोहका नाइके केसीले बताएका छन् । उनको सोहि बयानका आधारमा रिसोर्ट सञ्चालक पौडेल पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दिनेश अमात्यले पौडेलाई नियन्त्रणमा लिइएको पुष्टी गर्दै सोधपुछपछि मात्रै थप तथ्य खुल्ने बताए । ‘यसअघि पक्राउ परेका ब्यक्तिको बयानको आधारमा संलग्नता देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिएका हौ’, उनले भने ‘ सोधपुछपछि मात्रै थप तथ्य खुल्ला । ’ पौडेललाई पक्राउ गर्न काठमाडौंबाटै अनुसन्धान महाशाखाको टोली पोखरा आएको थियो ।

बिटक्वाइन कारोबारी र आइसिक्वु नामक एप्समार्फत सो गिरोहले विदेशी नागरिकको डेबिट तथा क्रेडिट कार्डहरूको डाटा चोरी गरेको महाशाखाका डिएसपी अजय केसीले बताए । आइसिक्वु एप्समा रहने ब्रोकरहरूमार्फत उनीहरूले एटिएमको डाटा बेच्ने गर्दथे । ५० देखि ५ सय अमेरिकन डलरसम्म तिरेर उनीहरूले त्यस्ता एटिएम पिन नम्बरसहितको डाटा किन्ने र सोही डाटाबाट नक्कली एटिएम कार्ड बनाउँदै आएका थिए ।

प्रहरीले एटिएमबाट डाटा ह्याक गरी पैसा चोरी गरेको अभियोगमा चैत्र ४ गते राती लेकसाइडबाट दुई बुल्गेरियन नागरिकलाई पनि पक्राउ गरेको थियो । http://peacepokhara.com/%E0%A4%8F%E0%A4%9F%E0%A4%BF%E0%A4%8F%E0%A4%AE%E0%A4%95%E0%A5%8B-%E0%A4%A1%E0%A4%BE%E0%A4%9F%E0%A4%BE-%E0%A4%B9%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A4%B0%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B8/

कमेन्टहरु
Loading...