अपाङ्गता मैत्री संरचना र व्यवहारका लागि जनप्रतिनिधिको प्रतिवद्धता

पोखरा, ३० असार / अपाङ्गता मैत्री संरचना र व्यवहारका लागि सकारात्मक भुमिका खेल्ने पोखराका महानगर र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

स्वावलम्बन जीवन पद्धति केन्द्र पोखरा र अपाङ्गता महिला सशक्तिकरण केन्द्र कास्कीको आयोजना एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र टेवा नेपालको सहयोगमा जनप्रतिनिधिहरुसँग अपाङ्गता अधिकार तथा राष्ट्रिय अन्तराष्ट्रिय नीति नियम र कानुन सम्बन्धी दुई दिने अभिमुखिकरण तालिममा जनप्रतिधिहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

जनप्रतिनिधिहरुले अपाङ्गता मैत्री संरचना र वातावरण निर्माण गर्नमा पहल गर्ने, विभेद नगर्ने, समावेशी र समतामुलक समाजका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई पनि प्रतिनिधित्व गराउनका लागि वकालत र पैरवी गर्ने, अपाङ्गता परिचयपत्र प्राप्त गर्ने प्रक्रियाबारे जनचेतना फैलाउने, स्थानीय सरकारमा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका निम्ति बजेट विनियोजनका निम्ति भुमिका खेल्ने लगायतका प्रतिवद्धत व्यक्त गरेको स्वावलम्बी जीवन पद्धतिका अध्यक्ष हेम बहादुर गुरुङले जानकारी दिनुभयो ।

सहभागिहरुले राज्य व्यवस्था बदलिए पनि सोच बदलिन नसक्दा अपाङ्गता भएका व्यक्ति प्रतिको दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको बताए । उनीहरुले अपाङ्ग मैत्री कुराहरु कागजमा सिमित भएको तर व्यवहारमा नदेखिएको भन्दै जनप्रतिनिधिहरुसँग गुनासो गरेका थिए ।

अपाङ्गता भएका व्यक्तिहरु हरेक क्षेत्रबाट अझै पनि बञ्चित हुनु परेको र भएका प्रावधानको बारेमा पनि जानकारी नहुँदा अवसरबाट बञ्चित हुनु परेको सहभागीहरुको भनाई थियो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरु सम्बन्धी विद्यमान कानुन नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४, अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिने सेवा सुविधाहरु, अपाङ्गताको वर्गिकरण र प्रकार, अपाङ्गता मैत्री भौतिक संरचना र संचार पहुँचयुक्तता, अपाङ्गता परीचय पत्र र यसको महत्व , अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धि दीगो विकासका लक्ष्यहरुमा अपाङ्गताको सवाल, महिला विरुद्ध हुने सबै किसिमका विभेद अन्त्य गर्ने सम्बन्धी महासन्धी र अपाङ्गता भएका महिलाको सवाल लगायतका विषयमा सरोकारावाला निकाय सहित व्यापक छलफल गरिएको थियो ।

उक्त विषयमा अधिवक्ता श्रीकान्त सापकोटा, कास्की नेत्रहिन संघका अध्यक्ष लक्ष्मण सुवेदी , अपाङ्गता महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना के.सी, सिविआरएस संस्थाका कृष्ण लामिछाने, नारीसेवा केन्द्रका अध्यक्ष उषा बरुवाल, स्वावलम्बी जीवन पद्धतिका अध्यक्ष हेम बहादुर गुरुङ सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा महानगरपालिकाका भित्रका जनप्रतिनिधि र अन्नपूर्ण गाउँपालिका भित्रका जनप्रतिनिधि सहित ५५ जनाको सहभागिता रहेको अपाङ्गता महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना के.सीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...