अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणको तयारी पुरा

पोखरा, ८ पुस /पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरणको कार्यक्रम तयारी पुरा भएको छ । अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन ब्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा आगामी पुस १० देखि १५ गतेसम्म अन्नपूर्ण गाउँपालिका ११ स्थित छोम्रोङमा हुन गईरहेको दोस्रो चरणको कार्यक्रम तयारी पुरा भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङले बताएका छन् ।

पहिलो चरणको कार्यक्रम अन्नपूर्ण गाउँपालिका ११ स्थित अन्नपुर्ण बेस क्याम्पमा असोज २५ गते सम्पन्न भएको थियो । पहिलो चरणको कार्यक्रममा अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्गोजको शालिक शिलान्यास, विभिन्न जडिबुटी तथा परम्परागत होटलको नमूना एवं फोटोहरूको प्रदर्शनी लगायतका कार्यक्रम सम्पन्न भैसकेको महोत्सवका संयोजक गुरुङले जानकारी दिए ।

दोस्रो चरणको कार्यक्रममा अन्र्तगत तमु ल्होसारको उद्घाटन, स्थानीय कला शैली र परम्परागत संस्कृतिको विशेष झाँकी प्रदर्शनी, खुला महिला भलिबल प्रतियोगिता, खुला पुरुष भलिवल प्रतियोगिता, खुला बास्केटबल प्रतियोगिता, विशेषज्ञ डाक्टरहरुद्वारा वृहत् निःशुल्क स्वास्थ्य शिविर, घैंटो फुटाउने प्रतियोगिता, अन्नपूर्ण क्षेत्रको पर्यटन व्यवसायमा महत्वपूर्ण योगदान पु¥याएका अग्रज व्यवसायीहरूलाई सम्मान, पर्यटन सम्बन्धी डकुमेन्ट्री प्रदर्शन, सिर्जनशिल कलाकार समुह पोखराको सहभागितामा कला कार्यशाला र बनाईएका चित्रहरुको प्रर्दशनी लगायतका कार्यक्रम सञ्चालन गरिने महोत्सवका प्रचारप्रसार उपसमितिका संयोजक टंकराज अधिकारीले बताए ।

समग्र खेलको माध्यमद्धारा अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र विकास गर्ने उद्देश्यले आयोजीत खुला पुरुष भलिवल प्रतियोगिताकोे विजेता टीमले १ लाख, उपविजेता टीमले ६० हजार रुपैया नगदको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै गरि खुला महिला भलीवल तर्फ विजेता टीमले ४० हजार र उपविजेता टीमले २५ हजार रुपैया नगदको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् भने खुला पुरुष बास्केटवल प्रतियोगितामा विजेता टीमले ५० हजार र उपविजेता टीमले ३० हजार रुपैया नगद सहिता मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव मुल आयोजक समितिका महासचिव दीलिप गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...