प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सैनिक आवासीय मा.वि. प्रथम

पोखरा, २४ मंसिर / पच्चीसौँ वार्षिकोत्सव तथा रजत जयन्ती वर्षको अवसर पारेर पोखराको मदरल्यान्ड माविले प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सैनिक आवासीय मावि प्रहिलो भएको छ ।

गण्डकी प्रदेशका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू मध्ये विभिन्न विद्यालयबाट २२ समूहले सहभागिता जनाएकोमा पोखराको सैनिक आवसीय माविले प्रथम स्थान हात पारकोे हो । कास्कीकै गण्डकी आवासीय माध्यमिक विद्यालय लामाचौरले द्वितीय स्थान हात पारेको छ । त्यसै गरी तृतीय र सान्त्वना स्थान क्रमशः आयोजक विद्यालय मदरल्याण्ड मा.वि. पोखरा र पोखराकै प्रतिभा मा.वि. नदीपुरले हात पार्न सफल भएका छन् ।

कार्यक्रमका अवसरमा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्ड पोखराका प्रमुख विष्णु नारायण श्रेष्ठ, विद्यालयका निर्देशक डा. त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, एकेडेमिक डिन प्रेमनारायण पोख्रेल, दस जोड दुईका इन्चार्ज नारायण आचार्य लगायतका व्यक्तित्वहरूद्वारा ट्रफी, प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको कुरा शिक्षक होमनाथ भट्टराईले जानकारी दिए ।

नेपालकै चर्चित ब्रिज कोर्स संस्था पी.ई.ए. का निरज शर्मा क्विज मास्टर रहुनभएको कार्यक्रममा विभिन्न चरण हुँदै क्वाटर फाइनल, सेमी फाइनल र फाइनल गरी सम्पन्न भएको थियो । कार्यक्रममा विजयी विद्यार्थी तथा समूहले नगद पुरस्कारका साथ पी.ई.ए. संंस्थामा सञ्चालन हुने बी.ई प्रवेश परीक्षा तयारी कक्षाका लागि प्रथम भएका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति र द्वितीय, तृतीय र सान्त्वना भएकालाई क्रमशः पचहत्तर, पचास र पच्चीस प्रतिशत छात्रवृत्ति प्रदान गरिएको कुरा पी.ई.ए. का सिइओ सनत कुमार गिरीले जानकारी दिए ।

रजत जयन्ती समारोह मूल समितिका संयोजक तथा विद्यालयका संस्थापक निर्देशक डा. त्रिभुवन शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा गणित विभावका प्रमुख यादबहादुर अधिकारीले गरेका थिए ।

विद्यालयले रजत जयन्ती वर्षका अवसरमा आन्तरिक तथा बाह्य रूपमा चित्रकला, सरसफाइ, हस्तलिपि, कविता, निबन्ध, प्रदेश स्तरीय हाजिरी जवाफ, जिल्ला स्तरीय वक्तृत्वकला आदि जस्ता प्रतियोगिता तथा विविध कार्यक्रमहरू सम्पन्न गरिसकेको कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए ।

कमेन्टहरु
Loading...