पोखरा पब्लिकले रजत जयन्ती मनाउने

पोखरा, १७ मंसिर/ पोखरा १४ चाउथेस्थित स्वागत नगरको पोखरा पब्लिक स्कुलले रजत जयन्ती विविध कार्यक्रम गरी मनाउने भएको छ । स्कुलले मंसिर १८ गतेदेखि पुस ११ गते सम्म विविध कार्यक्रम गरी रजत जयन्ती मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीले जानकारी दिए ।

प्राचार्य केसीका अनुसार रजत जयन्तीका अवसरमा मंसिर १८ गते मादी गाउँपालिकाको वडा नम्बर ११ भगवती बरालडाँडामा ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण, शोभा आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण र विद्यालयलाई २५ हजार सहयोग हस्तान्तरण गरिनेछ । मंसिर १९ गते शिशुवाको सहेलोपाखाको वृद्ध तथा बाल आश्रममा खाद्य,लत्ता कपडा लगायतका सामग्री वितरण, २१ गते विद्यालय प्रांगणमा स्वास्थ्य शिविर, २७ गते शैक्षिक प्रदर्शनी, २९ गते अन्तर विद्यालय चित्र तथा निबन्ध लेखन प्रतियोगिता गरिनेछ ।

पुस १ गते पुरस्कार वितरण र पुस ११ गते रजत जयन्तीको विशेष कार्यक्रममा गायक प्रमोद खरेललाई सम्मान, सांस्कृतिक कार्यक्रमको साथमा अभिभावक दिवस मनाइने केसीले जानकारी दिए । उक्त दिन विद्यालयले रजत जयन्तीका अवसरमा प्रकाशन गर्न लागेको स्मारिका पनि विमोचन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तप्रसाद पराजुलीले जानकारी दिए ।

विद्यालय स्थापना हुँदा २५ जना विद्यार्थी रहेकोमा अहिले १ हजार १ सय २५ जना विद्यार्थी अध्ययनरत र ७५ जना शिक्षक कार्यरत रहेको प्राचार्य केसीले बताए । २०७१ सालको एसएलसी परीक्षामा कास्की जिल्ला प्रथम, २०७२ को एसइईमा कास्की जिल्ला प्रथम र नेपालमा दोस्रोहुँदै हरेक एसइई परीक्षामा उत्कृष्टसहित सतप्रतिशत नजिता ल्याउन सफल भएको केसीले बताए ।

२०५१ सालमा पोखराको चिप्लेढुंगामा स्थापना भएको विद्यालय २०६६ सालदेखि पोखराको चाउथेमा रहेको सुविधा सम्पन्न आफ्नै भवनमा सञ्चालनहुँदै आएको छ । ‘ज्ञान नै ऊर्जा हो,’ भन्ने नाथका साथ स्थापना भएको विद्यालयले गुणस्तरीय शिक्षा र अनुशासनमा जोड दिँदै आएको केसीले बताए ।

‘विद्यार्थीलाई सामाजिक कार्यमा सहभागी गराउन विद्यालयमा विद्यार्थी कल्याणकारी समिति गठन गरिएको छ,’ केसीले भने,‘कक्षा ६ देखि १२ सम्मका प्रत्येक विद्यार्थीले महिनामा ५ रुपैयाँ कल्याणकारी समितिमा जम्मा गर्दछन् र कोषमा जति रुपैंयाँ जम्मा हुन्छ त्यत्तिनै रकम विद्यालयले थपेर सामाजिक कार्य र ज्येष्ठ नागरिक, गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई सहयोग गर्दै आएका छौं ।’ पत्रकार सम्मेलनमा शिक्षक अनुराग अधिकारीले पनि विद्यालयको बारेमा बोलेका थिए ।

कमेन्टहरु
Loading...