पोखरामा पुष दोस्रो साता टुर दि पोखरा

पोखरा, ९ मंसिर /पोखरामा पुस १२ गते ‘टुर दि पोखरा’ हुने भएको छ । ‘टुर दि पोखरा’ र समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको आयोजकले बताए । साइकल सिटी पोखराले आयोजना गर्ने पाँचौँ टुर दि पोखरामा साइकलयात्रीहरुले ३० किलोमिटरभन्दा बढीको यात्रा तय गर्नेछन् ।

पोखरा र समग्र नेपालमा नै साइकललाई प्रमु्ख सवारी साधन बनाउने, साइकल चढ्न उत्प्रेरित गर्ने र साइकल लेनहरु बनाउन सरकारलाई भक्झक्याउनु पनि यो कार्यक्रमको उदेश्य भएको साइकल सिटीका अध्यक्ष महेन्द्रराज कोइरालाले बताए । उनले नेपालले २ खर्ब र पोखराले १६ अर्बको वार्षिक इन्धन खपत गर्ने परिपेक्ष्यमा इन्धनको खपत कम गराउनु पनि यो दौडको आयोजना गरिएको उनले बताए ।

दौडको सद्भावना राजदूत एकहात मात्रै भए पनि कुशलतापूर्वक साइकल चलाउने र प्रतियोगितामा समेत सामेल हुँदै आएका विशाल गर्बुजालाई बनाइएको छ । उनी पोखराको तल्लो गगनगौंडा निवासी हुन् । उनको देब्रे हात छैन । उनको कुशलता र साइकल मोहलाई संवोधन गर्न सद्भावना राजदूत बनाइएको दौड संयोजक राजन गोङ्गजुले बताए ।

दौडअन्तर्गत रक्तदान,स्लो साइकल रेस, वान ह्विल रेस, जिगज्याग साइक्लिनिङ तथा पुरुष तथा महिला साइकल दौड प्रतियोगिता पनि सामेल गरिएको छ । साइकल सिटीका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सन् २०२० मा नेपालमा करिब १२० देशका साइकल संघको सहभागितामा विश्व साइकल संघको बैठक हुन लागेको सन्दर्भमा हुने दौडले साइकलप्रतिको मोह बढाउने आशा व्यक्त गरे ।

उनले साइकल चढेर व्यवसाय गर्नेहरुको संख्या ठूलो भएको बताउँदै यो दौडमा साइकलबाट कवाडीदेखि तरकारी, अण्डादेखि पाउरोटी र पत्रिका बेच्नेलाई पनि दौडमा सामेल गर्ने बताए । टुर दि फ्रान्सको झल्को दिने यो साइकल दौडमा १५ सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा रहेको छ ।

कमेन्टहरु
Loading...