चीनको युनान प्रान्तको टोलीलाई मुख्यमन्त्रीको सुझाब‐ जलविद्युतमा लगानी गर्नुहोस्

पोखरा, १० मंसिर / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र चिनको युनान प्रान्तका गर्भनर रुआन छेङफावीच भेटबार्ता भएको छ । सोमबार पोखरामा भएको भेटमा दुइपक्षीय हित र सहयोग आदान प्रदानको विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव सुर्य प्रसाद गुरुङले जानकारी दिए ।

भेटमा सुरुवातमा मुख्यमन्त्री गुरुङ प्रदेशको भौगिलिक, सास्कृतिक र प्रसिद्ध स्थान बारे जानकारी गराएका थिए । उनले गण्डकी प्रदेश पर्यटन र जलविद्युतको संभावनायुक्त प्रदेश भएकोले यसमा युनान प्रान्तसंग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।

बुढी गण्डकी, कालीगण्डकी जस्ता जलविद्युतका संभावनायुक्त नदीहरु प्रदेशमा रहेको जानकारी गराउदै उनले यसमा लगानी गर्न गर्भनर सहितको टिमलाई आग्रह गरेका थिए । साथै गण्डकी प्रदेशले सन २०२२ सम्ममा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको भन्दै चीन र विशेष युनान प्रान्तले प्रचार प्रसारमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

जवाफमा गर्भनर छङफाले युनान प्रान्त पनि जलविद्युतको धनी प्रान्त भएकोले यसमा सहयोग र सहकार्यका लागि आफुहरु तयार बताए । जलविद्युत प्रमुख सहित आफु नेपाल भ्रमणका आएको बताउदै उनले जलविद्युत क्षेत्रमा चीन सरकार र आफ्नो प्रान्तले सहयोग गर्ने बताए । युनान प्रान्तमा गत बर्ष करिब एक अर्ब पर्यटकले भ्रमण गरेको दृष्टान्त दिदै उनले नेपाल र गण्डकी प्रदेशको प्रचार प्रसार सहयोग गर्ने बचन दिएका थिए ।

उनले पोखरा सहर युनानबासीका लागि निकै मनपर्ने सहर भएको बताउदै आफु पोखरा आउन पाउदा निकै खुसी लागेको बताएका थिए । भेटमा मुख्यमन्त्री गुरुङले प्रदेशमा चीनसंग जोड्ने तीन वटा नाका भएको जानकारी कोरला नाका खोल्ने विषयमा हालै भएको चिनिया राष्ट्रपति भ्रमणको क्रममा सहमति भएको बताए । उनले यो नाका खुल्ला गरिएको चीनसंग व्यापारमा बृद्धि हुने विश्वास व्यक्त गरे । जवाफमा गर्भनरले चाडै नाका खुल्ने विश्वास व्यक्त गरे ।

मितेर साइनो गास्ने समझदारी

युनान प्रान्त गभर्नर छेङफाले दुई प्रदेशवीच मितेरी सम्वन्ध बनाएर अगाडि बढ्न आफुहरु इच्छुक रहेको प्रस्ताव राखेका थिए । मितेरी साइनो गासेर अगाडि बढ्दा धेरै विषयमा सहयोग आदान प्रदान गर्न र अनुभव साट्न सहज हुने बताएका थिए ।

दुवै प्रदेशका विदेश मामिला हेर्ने प्रतिनिधिवीच छलफल गराएर यसलाई अगामी दिनमा मितेरी सम्वन्धका लागि आधार बनाउन सकिने चिनिया पक्षले राखेको थियो । जवाफमा मुख्यमन्त्री गुरुङले दुवै प्रदेशको भौगोलिक बनावट एकै प्रकारको भएकाले विभिन्न विषयमा अनुभव आदान प्रदान गर्न सकिने भएकोले यसमा गण्डकी प्रदेश सकारात्मक भएको बताएका थिए ।

गभर्नर छेङफाले अंग्रेजी भनाई जोड्दै ढिला भएपनि मितेरी साइनो गासिने आशा व्यक्त गरे । गर्भनर छङफालाई आफ्नो प्रान्त भ्रमणका निम्ता समेत दिएका थिए ।

कमेन्टहरु
Loading...