गण्डकी प्रदेश र तिव्वत बीच सुमधुर सम्वन्ध –मुख्यमन्त्री गुरुङ

पोखरा, १८ मंसिर / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र चीनको विरुद्धमा कुनैपनि गतिविधि हुन नदिन दृढ सङकल्पित रहेको बताउनु भएको छ ।

गण्डकी प्रदेशको आमन्त्रणमा दुई दिनको पोखरा भ्रमणमा आउनु भएका चीनको स्वायत्त प्रान्त तिव्वतका रिपव्लिक चेयरमेन क्विजहाराको सम्मानमा मंगलबार पोखरामा आयोजित कार्यक्रममा उहाँले नेपाल र चीन सरकारका साथै दुई देशका जनता बीचको सम्वन्ध सुमधुर रहेको बताउनु भयो ।

उहाँले गण्डकी प्रदेश र तिव्वतको भौगोलिक सिमानामा गण्डकी प्रदेशका मुस्ताङ, मनाङ र गोर्खाको सिमाना जोडिनुका साथै संस्कृति पनि समान रहेको बताउनुभयो । दुवै देश शान्तिका साथै समानता र आपसी सम्वन्धमा विश्वास गर्ने गरेको उल्लेख गर्दै उहाँले तिव्वतका चेयरमेन क्विजहाराको पोखरा भ्रमणबाट सम्वन्ध थप उचाईमा पुगेको बताउनुभयो ।

चीनका राष्ट्रिपति सिजिङपिङको ऐतिहासिक नेपाल भ्रमणको प्रसङ्ग उल्लेख गर्दै दुवै मुलुक एक आपसमा साझेदारीमार्पmत विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास प्रकट गर्नुभयो ।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको यसै बर्ष चीनको ल्हासाको मैत्रीपूर्ण भ्रमणको माध्ययमबाट दुवै देशको सम्वन्ध झन प्रगाढ भएको उहाँले वताउनुभयो ।

चीनको सहयोगमा पोखरामा निर्माण भईरहेको अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तीब्ररुपमा भई रहेको जानकारी गराउँदै मुख्यमन्त्री गुरुङले नेपालको सडक विस्तार, विमानस्थल, जलविद्युत परियोजना लगायतका योजनाहरुमा सहयोग जारी रहने विश्वास प्रकट गर्नुभयो ।
‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई साकार पार्न चीन सरकारको सहयोग आवश्यक रहेकाले मुलुकका बिभिन्न भागका साथै गण्डकी प्रदेशमा लगानीको लागि आव्हान गर्नुभयो ।

सो अवसरमा तिव्वतका चेयरमेन क्विजहाराले नेपालको आर्थिक र सामाजिक विकासमा चीन सरकारको सहयोग रहिरहने बताउनुभयो । उहाँले जलविद्युत, सडक लगायत विभिन्न योजनाका साथै निर्माण भई रहेको योजनामा पनि सहयोगको लागि चीन सरकार प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।

चेयरमेन क्विजहाराले तिव्वत र नेपालको पहाडी क्षत्रमा समानता, संस्कृति र रितिरिवाज एकनासको रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा चीनको लगानीको लागि वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन तिव्वतले पनि अहम भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । दुईदिने पोखरा भ्रमणमा आएको सो भ्रमण टोलीमा सात सदस्य रहेको छ । तस्वीर उपलव्धछ ।

कमेन्टहरु
Loading...