अमेरिकी दुताबास र पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिबीच छलफल

पोखरा, १३ मंसिर/ नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख म्यानुएल पि मिक्कलर नेतृत्वको प्रतिनिधिमण्डल तथा पोखरा उद्योग वाािणज्य संघका पदाधिकारीबीच साना व्यवसायको प्रवद्र्धन, रोजगारी सृजना र महिला सशक्तिकरणको क्षेत्रमा सहकार्यको सम्भावनाबारे छलफल भएको छ ।

शुक्रबार भएको छलफल कार्यक्रममा बोल्दै अमेरिकी दूतावासका नियोग उपप्रमुख मिक्कलरले नेपालमा बाह्य लगानीको अवस्थाबारे पनि जानकारी लिएको थिए । उनले नेपाल भ्रमण वर्ष २०२० को सफल कार्यान्वयनको बारेमा पनि सहकार्यको सम्भावनाबारे चर्चा गरेका थिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले साना र मझौला व्यवसाय प्रवद्र्धनले मात्र रोजगारी सृजना गर्न सकिने भए पनि चर्को ब्याजदर, दक्ष जनशक्तिको अभाव, युवा पलायनका कारण समस्या परेको बताए । उद्योग स्थापनाको लागत नै महंगो पर्दा उत्पादनले प्रतिष्पर्धी क्षमता पनि गुमाउने गरेको उनको भनाई थियो ।

संघका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले महिला उद्यमशीलता विकासको लागि राज्यबाट पर्याप्त सहयोग नभएको गुनासो गरिन् । संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापतिले रोजगारी सृजनाको लागि सरकारले लगानीको वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताए ।

संघका महासचिव अर्जुन पोखरेलले नेपाल भ्रमण वर्ष मनाइरहँदा सरकारले गुणस्तरीय पर्यटक भित्र्याउनेबारेमा पनि ध्यान दिनुपर्ने बताए । उनले नेपाल भ्रमण वर्ष सचिवालय र निजी क्षेत्रबीच समन्यवको अभाव देखिएको पनि उनको भनाई थियो ।

कमेन्टहरु
Loading...